site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु रहेको बताएकी छन् । 

बुधबार सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई धनगढीमा सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, “मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”

Argakhachi Cement Island Ad

उनले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धराणा पनि राखिन् ।

कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्धनमा वर्तमान सरकार लागेको पनि उनले बताइन् । 

सरकारको आर्थिक विकासको एजेन्डालाई थप प्रवर्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी पनि दिइन् ।

मन्त्री डा. राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताइन् ।

“जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो । त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ,” उनले भनिन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्