site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
किन निरन्तर घटिरहेको छ सेयर बजार ?

काठमाडौं । पछिल्ला दुई दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक करिब ५० अंक घटेको छ । आज (बुधबार) ११ अंकले घटेर बजार २६४६.९५ विन्दुमा बन्द भएको छ ।

मंगलबार बजार ३५.७३ अंक घटेको थियो । पछिल्ला दिनमा नेप्सेगँगै कारोबार रकम पनि घटिरहेको छ । सोमबारयता कारोबार रकम दैनिक घटेको छ । सोमबार नौ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ६ अर्ब ६७ करोड र बुधबार (आज) पाँच अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Argakhachi Cement Island Ad

अंग्रेजी जुन महिनालाई सेयर बजार बढ्ने महिनाका रूपमा लिने गरिए पनि पछिल्ला दिनको कारोबार रकम र परिसूचकको घटाइ अस्वाभाविक जस्तै भएको छ । बजारमा दैनिक ५/६ अर्बको कारोबार भइरहेको छ ।

बजारमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकको विषयमा नकारात्मक समाचार आइरहेकाले पनि लगानीकर्ताको मनोबलमा असर परेको सेयर बजारका प्राविधिक विश्लेशक सुवासचन्द्र ढुंगाना बताउँछन् । 

“केही दिनदेखि बैंकर र व्यवसायी छुट्याउने कुरामा बहस भइरहेको छ । बैंकहरूका संस्थापक सेयरहरू पब्लिकमा कन्भर्ट भएर बजारमा सप्लाइ बढ्छ कि भन्ने त्रास बढेको देखिन्छ,” उनले भने, “तर, यो कुरा गलत हो । जुन महिना सेयर बजारका लागि राम्रो महिनाका रूपमा लिइन्छ । यो महिना बजारको गति उकालो नै हुने गरेको छ ।”

प्राविधिक रूपमा पनि अहिलेको सपोर्ट मजबुत रहेको ढुंगाना बताउँछन् । २६ सयदेखि साढे २६ सयको विन्दु अहिलेको सपोर्ट रहेको उनको भनाइ छ ।

बजेटले दोस्रो बजारमा एनआरएनहरू भित्र्याउने कुरा गरेको छ । यसका साथै नयाँ गभर्नरले ल्याउने मौद्रिक नीतिलाई पनि लगानीर्ताले हेरिरहेको उनी बताउँछन् ।

भर्खरै आईपीओ निष्कासन गरेका ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको सेयर मूल्य लगातार बढिरहेको छ ।

आज कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ भने अरू समूहको परिसूचक घटेको छ ।

६६ कम्पनीको सेयर मूल्य बढेको छ । १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्