
काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ भोलि (जेठ २० गतेदेखि) आयोजना हुने भएको छ । ललितपुरको पुल्चोकमा रहेको द प्लाजा होटेलमा २०, २१ र २२ गते यो फोरम चल्नेछ ।
इन्भेष्ट फर इम्प्याक्ट नेपालद्वारा आयोजना गरिने यो फोरममा विभिन्न विकास वित्तीय संस्था, प्रभावकारी लगानीकर्ता, निजी क्षेत्र, सरकारी नियामक निकाय तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहने नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।
बेलायती अन्तर्राष्ट्रिय लगानी, डच विकास बैंक तथा स्विस विकास सहयोग संस्थाको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम नेपालमा वैदेशिक लगानी भित्र्याउन बनाइएको साझा प्लेटफर्म हो ।
तीनदिने कार्यक्रममा नीति संवाद, लगानीकर्ताबीचको बैठक, क्षेत्रीय अवलोकन भ्रमणलगायत विविध गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो फोरम २०२३ देखि हुँदै आएको छ । कार्यक्रम नेपाल फर इम्प्याक्ट नेपाल, नेपाल बैंकर्स संघ र नेपाल प्राइभेट इक्विटी एसोसिएसनको सहकार्यमा आयोजना हुन लागेको हो ।