
काठमाडौं । सार्वजनिक यातायात ठप्प रहँदा पर्यटकीय बस भने सञ्चालनमा आएका छन् । ‘टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौंदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए ।
“विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आएको छ,” उनले भने । आफूहरूले निरन्तररूपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भएकाले वार्ता र छलफलबाटै निष्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारीसाधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गरे । उनले बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारीसाधनलाई निर्वाधरूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
गण्डकी सरकारले 'राइड सेयरिङ'लाई मान्यता दिनेगरी कानुन ल्याएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आज देशभर यातायात सेवा ठप्प पारेका छन् । रासस