site stats
बाह्रखरी :: Baahrakhari
देश
सांसदले गरे मदन भण्डारी विश्वविद्यालयको स्थलगत अवलोकन

काठमाडौं । संघीय सांसदहरूले मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अवलोकन गरेका छन् । शुक्रबार र शनिबार (जेठ १६ र १७) सांसदको एक टोलीले उक्त विश्वविद्यालयको अवलोकन गरेको हो ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासहित देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, सरिता भुसाल र ज्ञानु बस्नेत सुवेदीले विश्वविद्यालयको स्थलगत अवलोकन तथा विद्यार्थी र प्राध्यापकसँग अन्तरक्रिया गरे ।

त्यसक्रममा सांसदले डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन र दिगो तथा लचिलो पूर्वाधारसम्बन्धी अनुसन्धान प्रयोगशालाको अवलोकन गर्नुका साथै गतिविधिबारे जानकारी लिएका विश्वविद्यालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

afd-1748705273.jpg
विश्वविद्यालयका डा. भूषण श्रेष्ठ, डा. सविना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ,  डा. सर्वेशदास डंगोल, डा. किशोर तिमल्सिना र डा. राजीव सुब्बाले आआफ्नो कार्यक्रमअन्तर्गत भइरहेको अनुसन्धानका बारेमा जानकारी गराएका थिए ।

यस्तै, डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, वनजन्य जैविक सामग्री, दिगो तथा लचिलो पूर्वाधार विषयमा अध्ययनरत विद्यावारिधि र स्नातकोत्तर तहका विद्यार्थीले आफ्नो शोधसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।

विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले यसलाई विश्वस्तरीय बनाउन आवश्यक नीतिगत सहयोग शीर्षकमा प्रस्तुति दिए । राजनीतिक क्षेत्रलगायत समाजका विभिन्न तह र तप्काबाट विश्वविद्यालयलाई आवश्यक सहयोगका बारेमा उनले जानकारी गराए ।

हाल यो विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई मासिक वृत्ति ३० हजार रुपैयाँसम्म प्रदान गरिरहेको छ । त्यसले विद्यार्थीलाई आफ्नो अनुसन्धानमा दत्तचित्त रहन मद्दत गरेको विश्वविद्यालयले जनाएको छ । हालसम्म यो पब्लिक संस्थाले चन्दादाताको सहयोगमा एक करोड ५० लाख रुपैयाँसम्म प्रदान गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए ।

IMG-20250531-WA0005-1748705333.jpg
१५ करोडभन्दा बढी वार्षिक कारोबार गर्ने संस्थाले आर्जन गरेको नाफाको कम्तीमा एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति छुट्ट्याउने व्यवस्था कानुनमै गर्न उनले सांसदलाई आग्रह गरे । साथै, योगमाया विश्वविद्यालयलाई व्यवस्था गरिएजस्तै यसलाई पनि विदेशी व्यक्तिले चन्दा दिँदा कर नलाग्ने गरिदिन आग्रह गरे ।

त्यहाँ आयोजित कार्यक्रममा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विश्वविद्यालयले छोटो समयमै गरेको पूर्वाधार विकास र अनुसन्धान प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे । आउँदा दिनमा विश्वविद्यालयले सरकारको अनुसन्धान नीति बनाउनमा सहयोग गर्ने अपेक्षा समेत गरे ।

उनले अनुसन्धानमार्फत ज्ञानलाई उत्पादनसँग जोडी नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने विद्यार्थी तयार गर्न सुझाव दिए ।

asf-1748705398.jpg
टोलीका अर्का सदस्य छविलाल विश्वकर्माले अनुसन्धानकर्मीलाई सरकारले उत्प्रेरणा दिनुपर्ने धारणा राखे ।

शिक्षा समितिका थापाले विश्वविद्यालयले गरेको कामको प्रशंसा गरे । विश्वविद्यालयले कृषिको उत्पादनमा आधुनिकीकरण कसरी गर्न सक्छ र त्यसको प्रत्यक्ष प्रभाव नागरिकसम्म पुर्‍याउन सक्नुपर्छ भन्नेतर्फ लाग्न उनले सुझाव दिए । यसका नीति तथा कार्यक्रम अरू विश्वविद्यालयका निम्ति पनि अनुकरणीय हुनेमा उनले विश्वास व्यक्त गरे ।

प्राध्यापकहरूले मदन भण्डारी विश्वविद्यालय आउने चित्लाङ सडक ‘गणेशमान सिंह राजमार्ग’को दुरावस्थाका बारेमा जानकारी गराएका थिए । सम्बन्धित निकायको ध्यानाकर्षण गराई उक्त सडक समयमै सुरक्षित यात्राका निम्ति उपयुक्त हुने बनाउनका निम्ति उनीहरूले सांसदलाई आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्