
काठमाडौं । विश्वभरको ध्यान अहिले अमेरिका, रूस र युक्रेनमा केन्द्रित छ । यसको मुख्य कारण, रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको संघर्ष अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्त्वपूर्ण पहल गरिरहेका छन् ।
ट्रम्पले पहिले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे । त्यसपछि सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा बैठक गरे ।
यो बैठकपछि ट्रम्पले दुई देशको युद्ध अन्त्य गर्ने विषयलाई लिएर ठूलो घोषणा गरेका छन् । उनले रूसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच शान्ति वार्ता गराउने तयारी सुरु भएको बताएका छन् । ट्रम्पले यो जानकारी ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीसँगको बैठकपछि दिएका हुन् ।
ट्रम्पले आफूले पुटिनसँग फोनमा कुराकानी गरेको र त्यसपछि जेलेन्स्की र पुटिनबीच बैठकको योजना बनाउन सुरु गरेको जानकारी दिए ।
यद्यपि, अहिलेसम्म बैठकको स्थान तय भएको छैन । “तर हामी चाँडै यसका लागि स्थान तय गर्नेछौँ,” उनले भने । उनले त्यसपछि आफू दुवै नेताहरूसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने पनि बताए ।
ट्रम्पले सामाजिक सञ्जाल माध्यम ट्रुथ सोसलमा लख्दै रूस–युक्रेनमा शान्तिको सम्भावनालाई लिएर सबै निकै उत्साहित भएको बताएका छन् । वार्तासँग सम्बन्धित एक स्रोतले पुटिनले पनि जेलेन्स्कीसँग भेट्न सहमति जनाएको समाचारमा उल्लेख छ ।
युक्रेनलाई सुरक्षा ‘ग्यारेन्टी’को प्रस्ताव
ट्रम्पले यसअघि नै आफूले यो सम्भावित शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा पनि छलफल गरेको बताएका थिए । यसमा युरोपेली देशहरूले मुख्य भूमिका निभाउनेछन् र अमेरिकासँग समन्वय गर्नेछन् । यद्यपि, उनले रूस अझै पनि युक्रेनलाई नेटोमा सामेल हुन दिने पक्षमा नभएको पनि स्पष्ट गरे । तर, पश्चिमी सुरक्षा ग्यारेन्टी दिन तयार हुनसक्ने उनको भनाइ छ ।
ट्रम्पसँगको कुराकानीलाई जेलेन्स्कीले भने, ‘विशेष’
यसअघि, जेलेन्स्कीले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको कुराकानीलाई हालसम्मकै सबैभन्दा राम्रो र सकारात्मक भनेका थिए । उनले यो बैठकमा दुई नेताहरूबीच युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टीबारे महत्वपूर्ण छलफल भएको बताए ।
“राष्ट्रपति ट्रम्पसँग निकै राम्रो कुराकानी भयो । यो हालसम्मकै सबैभन्दा उत्कृष्ट कुराकानी थियो,” उनले भने, “सायद भविष्यमा पनि यस्तै उत्कृष्ट कुराकानी हुनसक्छ ।”
बैठकअघि ट्रम्पले के भनेका थिए ?
बैठकअघि ट्रम्पले सामाजिक सञ्जालमा जेलेन्स्की सम्झौताका लागि तयार भए युद्ध तुरुन्तै समाप्त गर्नसक्ने बताएका थिए ।
ट्रम्पले युक्रेनले क्रिमिया फिर्ता नपाउने र नेटोमा सामेल हुन नसक्ने स्पष्ट संकेत दिएका थिए । उनले केही कुराहरू कहिल्यै परिवर्तन नहुने दाबी गरेका थिए । यसमा जेलेन्स्कीले युद्धलाई चाँडै र स्थायी रूपमा समाप्त गर्ने सबैको इच्छा रहेको तर शान्ति अस्थायी नभएर टिकाउ हुनुपर्छ भन्ने जवाफ दिएका थिए । उनले क्रिमिया र डोनबासजस्तै रूसलाई फेरि आक्रमण गर्ने अवसर दिनु नहुने बताएका थिए ।