
काठमाडौं । विपक्षी दलले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्नका लागि सदनमा अवरोध नगर्ने जनाएका छन् । विपक्षी दलका तर्फबाट बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण, बजेट प्रस्तुत गर्न र टेबल गर्ने विषयमा मात्रै सदन अघि बढ्न दिइएको बताए । यद्यपि, उनले भने, “हाम्रो आन्दोलन जारी छ ।”
उनले जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेकाले प्रतिपक्ष जिम्मेवार बनेको बताए । “हामी जिम्मेवार छौँ । यो देशलाई अघि बढाउन संविधान रक्षा, कार्यान्वयन गर्न निरन्तर अघि बढ्नुपर्छ,” उनले भने ।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको बताए । कर्मचारीले बदमासी गर्दा कारबाही गर्नुपर्दैन ? भन्दै प्रश्न समेत गरे ।
“भिजिट भिसा प्रकरणमा माननीय गृहमन्त्रीको राजीनामाको कुरा उठायौँ । उठाइ नै रहेका छौँ,” उनले भने, “माननीय गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत जे–जे कुरा राख्नुभयो । कर्मचारीका बारेमा कुरा गर्नुभयो । यदि देशमा भ्रष्टाचार, बदमासी भयो भने तिनलाई कारबाही गर्न पर्दैन ?” भ्रष्टाचारका काण्डले शिर निहुरिएको उनको भनाइ छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीले मंगलबार र बुधबार सदन अवरोध गरेका थिए ।