site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विदेशी उत्पादन बहिष्कार गर्न मोदीको अपिल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयहरूलाई विदेशी सामानमा निर्भरता घटाउन र घरेलु उत्पादन प्रयोग गर्न आग्रह गरेका छन् । उनले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने लक्ष्यका निम्ति यो कदम महत्त्वपूर्ण हुने बताएका छन् ।

मोदीको यो टिप्पणी कश्मीरमा पाकिस्तान समर्थित आतंकवादीले पर्यटकमाथि गरेको घातक हमला र भारत–पाकिस्तानबीचको चारदिने द्वन्द्वको पृष्ठभूमिमा आएको हो । यसको प्रतिक्रियामा भारतले सीमापार आतंकवादी शिविरलक्षित हमला गरेको थियो ।

भारतको गुजरात राज्यको दुई दिनको यात्राको क्रममा गान्धीनगरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले सामूहिक प्रयास र प्रतिबद्धताबाट सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य राख्नुपर्ने बताएको भारतीय अखबार मिन्ट अनलाइनले जनाएको छ ।

Argakhachi Cement Island Ad

“हामीले विदेशी सामान प्रयोग नगरी घरेलु उत्पादनलाई बढावा दिनुपर्छ,” उनले भने । उनले व्यवसायीलाई पनि जति नै घाटा भए पनि विदेशी सामान बिक्री गर्नबाट टाढा रहन आग्रह गरे ।

टर्की र अजरबैजानका उत्पादन बहिष्कार

हालैको द्वन्द्वमा टर्की र अजरबैजानले पाकिस्तानलाई समर्थन गरेको खबर आएपछि भारतमा ती देशका उत्पादन बहिष्कार गर्ने आन्दोलनले गति लिएको छ । भारतीय टुर अपरेटरहरूले यी दुवै देशका निम्ति टुर प्याकेज फिर्ता लिएका छन् । 

सामाजिक सञ्जालमा बहिष्कारको आह्वान चर्किएको छ । धेरै भारतीय पर्यटकले यी गन्तव्यको यात्राको योजना रद्द गरिरहेका छन् । भारतीय विमानस्थलहरूमा टर्किस कम्पनी सेलेबीको ग्राउन्ड–ह्यान्डलिङ लाइसेन्स पनि रद्द गरिएको छ ।

“मे ६ को राति हाम्रो सैन्य बलको शक्तिले ‘अपरेशन सिन्दूर’ सुरु भयो, अब यो जनताको शक्तिले अगाडि बढ्नेछ,” उनले भने, “हरेक नागरिक राष्ट्रिय विकासको साझेदार बन्नुपर्छ ।”

भारतीय प्रधानमन्त्री मोदीले ‘भोकल फर लोकल’ र ‘वन डिस्ट्रिक्ट वन प्रोडक्ट’जस्ता सरकारी कार्यक्रमले घरेलु उत्पादनमा निर्भरता बढाउने बताए । उनले भारतीयहरूले स्थानीय रूपमा उत्पादन नहुने र आयात गर्नुपर्नेबाहेकका अन्य सबै विकल्पमा घरेलु सामान प्रयोग गर्ने लक्ष्य राख्नुपर्ने बताए ।

उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने सरकारी लक्ष्यमा कुनै सम्झौता नहुनेमा जोड दिए । 

भारतका सहरी केन्द्रहरू, जस्तैः तह २ र तह ३ का सहरहरू, आर्थिक वृद्धि र गतिविधिका प्रमुख केन्द्रहरू बन्नुपर्ने मोदीले बताए ।

भारतीय जनता पार्टी नेतृत्वको सरकारको ‘विकसित भारत २०४७’ कार्यक्रमले स्वतन्त्रताको शताब्दीसम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य राखेको बताए । 

सरकारका अनुसार, यो पहलले समावेशी आर्थिक वृद्धि, सामाजिक न्याय, वातावरणीय स्थिरता र सशक्त शासनलाई प्राथमिकता दिँदै समृद्ध र सुदृढ भारतको आधारशिला राख्न खोजेको छ । यसले नवीकरणीय ऊर्जाको व्यापक प्रयोग, विश्वस्तरीय शिक्षा, उन्नत स्वास्थ्य सेवा, राम्रो पूर्वाधार, पारदर्शी शासन र समावेशी विकासलाई पनि लक्ष्य बनाएको मोदीले बताए ।

अब प्रोक्सी युद्ध चल्दैन

मोदीले हालैको भारत र पाकिस्तान द्वन्द्वलाई अब प्रोक्सी युद्धका रूपमा हेर्न नसकिने बताए । मे ६ पछि मारिएका आतंकवादीलाई पाकिस्तानमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको उनले बताए । यसले प्रोक्सी कार्य नभएर जानाजानको युद्ध रणनीति थियो भन्ने देखाएको उनले बताए । भारतको शत्रुले आनुपातिक प्रतिक्रिया पाएको पनि उनले बताए ।

मोदीले विदेशी सामान, विशेषगरी चिनियाँ उत्पादनमा निर्भरता घटाउन र घरेलु उत्पादन बढाउन आह्वान गर्नुका पछाडि हालैको द्वन्द्वमा चीनले पाकिस्तानलाई समर्थन गरेको र भारत–चीनबीच बढ्दो व्यापारिक निर्भरताको पृष्ठभूमि रहेको समाचारमा उल्लेख छ । उनको यो टिप्पणीले क्षेत्रीय सुरक्षा तनाव बढ्दै गएको अवस्थामा आर्थिक निर्भरताको रणनीतिक जोखिमप्रति चिन्ता प्रकट गरिएको छ ।

आर्थिक वर्ष सन् २०२५ मा भारत–चीनबीचको वस्तु व्यापार ४११३.४५ बिलियन डलर पुगेको छ, जसमा ४९९.२ बिलियन डलरको रेकर्ड व्यापार घाटा रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्