site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद्‍बाट यस वर्ष २० लाख नेपाली प्रभावित हुने प्रक्षेपण

काठमाडौं । यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट करिब २० लाख नेपाली प्रभावित हुने अनुमान गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ मा उक्त कुरा उल्लेख गरिएको छ ।

बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको छ । 

Argakhachi Cement Island Ad

“प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ,” प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको कार्ययोजनामा उल्लेख छ ।

बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई. दिनेशप्रसाद भट्टले कार्यकारी समितिको ३१औँ बैठकबाट भएका निर्णयको समीक्षा, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ स्वीकृति, आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन), विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना ( २०१८ – २०३०)को कार्यान्वयनको अवस्थाबारेको अनुगमन प्रतिवेदन र चोभार गल्छीमा नदी प्रवाह सुचारुलगायत प्रस्ताव पेस गरेका थिए ।

बैठकले आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन)सम्बन्धी प्रस्ताव पारित गरेको छ । 
त्यसैगरी कार्यकारी समितिको ३१औँ बैठकबाट भएका निर्णयको कार्यान्वयनको सन्दर्भमा भए/गरेका कामको समीक्षा पनि गरेको छ । 

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८– २०३०)को कार्यान्वयनको अवस्थाको सम्बन्धमा तयार भएको वार्षिक अनुगमन प्रतिवेदनबारे बैठकलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्