
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल), २०२५ मा मंगलबार राति लिग चरणको अन्तिम खेलले नतिजा पाउँदा प्लेअफ समीकरण पूरा भएको छ ।
लिग चरणको अन्तिम खेलमा बेंगलुरुले लखनऊ सुपर जायन्ट्सविरुद्ध ६ विकेटको जित निकाल्दै दोस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गर्यो । मंगलबारको खेलमा लखनऊले प्रस्तुत गरेको २२८ रनको लक्ष्य बेंगलुरुले १८.४ ओभरमा चार विकेट गुमाएर भेटाएको थियो ।
बेंगलुरुको यो जितका बाबजुद टोली नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिन सकेन । लिग चरणका समान १४ खेल खेल्दा शीर्ष स्थानको पन्जाब र बेंगलुरुले १९–१९ अंक जोडेका छन् । तर, नेट रनरेटका आधारमा पन्जाब शीर्ष र बेंगलुरुले दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेका हुन् ।
यस्तै, तेस्रो स्थानको गुजरात र चौथो स्थानको मुम्बई इन्डियन्सले पनि लिग चरणमा क्रमशः १८ र १६ अंकसहित प्लेअफ यात्रा तय गरे ।
प्रतियोगिताको पहिलो क्वालिफायरमा पन्जाबले बेंगलुरुको सामना गर्नेछ । यी दुई टिमबीचको खेल मे २९ मा हुने तालिका छ । यस्तै, प्रतियोगिताको इलिमिनेटरमा गुजरात र मुम्बईले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको खेल मे ३० मा हुनेछ ।