site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । मंगलबार (जेठ १३) गोरखाको भीमसेन थापा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले गणतन्त्रपछि केही भएन भन्नेहरूले यसअघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्नेमा जोड दिए ।

“केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,” उनले भने, “तर, केही भएन भनेर भाष्य निर्माण गर्न खोजेर केही प्रतिगामीले राजतन्त्रको कुरा गरेका छन्, त्यो हामीले बुझ्नुपर्छ ।”

Argakhachi Cement Island Ad

आफूले गुमाएको सत्ता फर्किन्छ कि भन्ने मनसाय बोकेर प्रतिगामी तत्त्वले जनतालाई भ्रमित पार्ने कार्य गरिरहेको उनको भनाइ थियो । “यो संविधान र व्यवस्था लामो बलिदान र धेरै जनताको कुर्वानीबाट आएको व्यवस्था हो,” उनले भने, “त्यसैले यसको रक्षा गरेर आवश्यकताअनुसार जनताको पक्षमा हुने गरी संशोधन गर्दै अगाडि जाने वातावरण हामीले बनाउनुपर्छ ।”

संविधानमा लेखिएका कतिपय अधिकारका बारेमा संघीय कानुन निर्माण नहँुदा स्थानीय र प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको उनले बताए । “तीनै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकार भए पनि कानुन बन्न नसक्दा अझै समस्या छ,” उनले भने, “चाहे त्यो निजामती विधेयक होस्, चाहे प्रहरी समायोजन वा शिक्षासम्बन्धी विधेयक होस् ।”

कानुन समयमा निर्माण नगर्ने अनि काम गर्न सकेन भनेर स्थानीय र प्रदेश सरकारलाई बदनाम गर्न खोजिए व्यवस्थामै चुनौती आउने उनले बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २३:५१
प्रतिक्रिया दिनुहोस्