
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको हालसम्म मानवअधिकार उल्लंघनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएको जानकारी दिएको छ । यसअघिका समेत गरी यस वर्ष १६४ वटा उजुरी फर्छ्योट गरिएको आयोगले जनाएको छ ।
आयोगको २५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन संयन्त्रहरूले पीडितकेन्द्रित भएर कार्य गर्नुपर्नेमा जोड दिए । सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका घटनाका पीडितको न्याय र परिपूरण चिन्ताको विषय भएको उनले बताए ।
संक्रमणकालीन संयन्त्रहरूले पीडितकेन्द्रित भएर कार्य गर्नुपर्नेमा उनले जोड दिए । घटनाका पीडितको न्याय र परिपूरणका निम्ति राज्यका निकायले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नेमा आयोग विश्वस्त रहेको उनले बताए ।
अध्यक्ष मगरले पाँचौँ मानवअधिकार राष्ट्रिय कार्ययोजनाको फितलो कार्यान्वयनले मानवअधिकारको संरक्षण प्रभावकारी हुन नसकेको दाबी गरे । आगामी योजना तर्जुमाको चरणदेखि नै सबै सरोकारवालालाई सहभागी बनाएर अपनत्वको विकास गराउन आवश्यक रहेको उनको धारणा छ ।
आयोगबाट अनुगमनको कार्यमा खटिने कर्मचारीका साथै मानवअधिकार रक्षकहरूमाथि धम्की, दुव्र्यवहार र आक्रमणजस्ता घटना भइरहनु चिन्ताको विषय भएको अध्यक्ष मगरले बताए ।