
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले 'उत्तेजक र अराजक अभिव्यक्ति' फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । सोमबार एक विज्ञप्तिमार्फत भण्डारीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफ्नै पार्टीको मौनतामा पनि प्रश्न उठाएका छन् ।
“प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते नेकपा (एमाले) का कार्यकर्ताहरूलाई काठमाडौं नियन्त्रणमा लिन भनी हिजो आइतबार दिएको निर्देशन घोर आपत्तिजनक अभिव्यक्ति हो । संविधान, मानव अधिकार, विधिको शासनविरुद्ध देशको प्रधानमन्त्रीको अभिव्यक्ति आउनु खेदजनक घटना हो,” भण्डारीले लेखेका छन्, “शान्तिपूर्णरूपमा भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाउने नागरिकका नैसर्गिक अधिकारविरुद्ध आएको प्रधानमन्त्री अराजक अभिव्यक्ति प्रजातन्त्रप्रतिको उपहास हो ।”
भण्डारीले आफ्नै पार्टीले समेत प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा मौनता साँधेको भन्दै प्रश्न उठाएका छन् । “हाम्रो पार्टी नेपाली कांग्रेसले प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिप्रति मौन रहनु अर्को दुःखको विषय भएकाले सभापतिज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” भण्डारीले भनेका छन् ।
कांग्रेसले प्रधानमन्त्रीलाई सचेत नगराए समर्थन रहेको सन्देश जाने भएकाले तत्काल वक्तव्य जारी गर्न उनको आग्रह छ ।