
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा आएका विषयबारे स्पष्ट पार्न निर्देशन दिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई संसद् र सार्वजनिकरूपमा पनि बाहिर आएका विषयमा स्पष्ट पार्न भनेको हो ।
“गृहमन्त्रीजीमाथि जो आरोप लागेको छ, त्यसबारे संसद्भित्र र संसद्बाहिर स्पष्ट पार्न भनिएको छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भने, “मिडिया र सामाजिक सञ्जालमा जो विषय आएको छ, त्यसका सम्बन्धमा उहाँले सविस्तार राख्नुभयो । उहाँको कुराबाट हामीले पूर्ण विश्वास गर्ने अवस्था बनेको छ ।”
महतले छानबिनबाट दोषी देखिएकाहरूलाई कारबाही हुनुपर्ने बताए । उनले भ्रष्टाचारी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
“भ्रष्टाचार, हामीलाई स्वीकार्य छैन । भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने हो,” महतले भने ।