site stats
बाह्रखरी :: Baahrakhari
कला
सिनेमा निर्माणमा एआई कति चुनौती ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास, विस्तार र प्रयोग बढ्दै जाँदा यसले विभिन्न क्षेत्रका जनशक्तिको जागिर कटौती गर्ने सम्भावना छ । 

एआईविज्ञ तथा प्राध्यापक सुरेश मानन्धर (मदन भण्डारी विश्वविद्यालय) एआईको प्रयोगले सिनेमा उद्योगमा सबैभन्दा धेरै जनशक्ति कटौती हुने बताउँछन् ।

ग्राफिक्स डिजाइन, एनिमेटर तथा भीएफएक्सको काम गर्नेको संख्या सिनेमा उद्योगमा ठूलो हुन्छ । त्यसैले सिनेमा उद्योगमा काम गर्ने ग्राफिक्स डिजाइनर, एनिमेटर र भीएफएक्स आर्टिस्टको रोजगारी एआईका कारण कटौती हुने सम्भावना उच्च रहेको एआईविज्ञ मानन्धरको भनाइ छ ।

Argakhachi Cement Island Ad

“एआईको प्रयोग गर्दा सयजनाले गर्ने काम १० जनाबाटै हुन्छ,” मानन्धर भन्छन्, “एआई चलाउन जान्नेको जागिर जोगिन्छ, अरूको जान्छ ।” त्यसैले अब एआईबाट काम लिन सक्ने टेक्निसियन हुनुपर्नेमा उनी जोड दिन्छन् ।

इन्डस्ट्रियल रिभोलुएसन हुँदा घरेलु कामदारको रोजगारी गुमेजस्तै एआईको प्रयोग बढ्दै जाँदा धेरैको काम खोसिने उनी बताउँछन् ।

नेपाली चलचित्र उद्योगमा कार्यरत र नेपाल बसेरै हलिउड र बलिउडका ठूला सिनेमामा काम गरिरहेका एनिमेटर तथा भीएफएक्स आर्टिस्टहरू भने अहिलेकै अवस्थामा यो इन्डस्ट्रीका ग्राफिक्स डिजाइनर, एनिमेटर र भीएफएक्स आर्टिस्टको काम खोसिने अवस्था नरहेको टिप्पणी गर्छन् । यद्यपि, एआईको विकासले काम सहज भएको उनीहरू बताउँछन् ।

दिमाग पूरै खाली भएको अवस्थामा आइडिया जेनेरेट गर्न एआई सहयोगी हुन्छ । तर, सिनेमाको काम नै एआईमा भर परिसक्ने अवस्था तत्काल नरहेको उनीहरूको भनाइ छ ।

भोलिका दिनमा थप एड्भान्स भएर एआई आएको खण्डमा त्यो सम्भावनालाई नकार्न सकिँदैन । तर, अहिलेको अवस्थामा ग्राफिक्सन डिजाइनर, एनिमेटर र भीएफएक्स आर्टिस्टले आफ्नो कामबाट हात झिक्नुपर्ने अवस्था नरहेको उनीहरू प्रस्ट पार्छन् ।

भीएफएक्स आर्टिस्ट विराज खड्का एआईलाई पनि ह्युमेन टच चाहिने बताउँछन् । एआईले निकालेको काममा फाइनल टच मान्छेले नै दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  

“एआईले निकालेको काम तपाईंलाई मन नपर्न सक्छ । त्यसमा कति आफूलाई चाहिएअनुसार थप्नुपर्ला, कति निकाल्नुपर्ला । त्यसका लागि मानवीय जनशक्ति चाहिन्छ,” विराज भन्छन्, “एआईले हाम्रो कामलाई इनह्यान्स गर्छ, तर अहिलेकै अवस्थामा विस्थापित गर्छ भन्न सकिँदैन ।”

अहिले एआईले जति काम गर्छ त्योभन्दा कमजोर भए विस्थापित हुनुपर्ने तर परिपक्व र कुशल जनशक्तिलाई त्यसले पाखा लगाउन नसक्ने उनी प्रस्ट पार्छन् ।

मान्छेले गर्न नसक्ने काम एआईले गरिरहेको स्वीकार गर्नुपर्ने तर त्यसको विभिन्न विधा रहेकामा उनी जोड दिन्छन् । “जहाँ मान्छे पुग्न सक्दैन, त्यहाँ एआई मेसिनले काम गरिहेको छ । मेडिकल साइन्स, जुन शरीरको अंगमा चिकित्कले गर्न नसक्ने काम एआईमार्फत गर्न सकिन्छ,” विराज भन्छन्, “तर, आर्टको विधा अलि फरक छ । आर्ट भनेको इमोसन हो । इमोसनसँग मेसिनले भन्दा मान्छेले राम्रोसँग खेल्न सक्छ ।”

एआईले कामको गतिलाई तीव्र भने पारेको उनी सुनाउँछन् । सय व्यक्तिले गर्ने काम एआईको सहयोग लिएर पाँच/दशजनाले गर्न सक्ने उनको भनाइ छ । तर, एआई मान्छेले नै चलाउने भएको भन्दै उनी भन्छन्, “एआईले चलाउने खालको जनशक्ति छ भने बेग्लै कुरा, तर एआईलाई चलाउने खालको व्यक्ति हुनुपर्छ । टेक्नोलोजीको द्रुत विकासमा पनि स्किल भएको व्यक्तिले भने डराउनु पर्दैन ।”

एआईले गरेको भीएफएक्स, ग्राफिक्स डिजाइन बजारमा पठाउन नसकिने उनको तर्क छ । एआईबाट गरिएको र मान्छेले आफैँ गरेको काम प्रस्ट छुट्टिने उनको भनाइ छ । 

एआईले गरेको डिजिटल र वाटर पेन्टिङ सँगै राखेर हेर्ने हो भने तुलनै गर्न नसकिन विराज बताउँछन् । वाटर पेन्टिङले नै मान्छेको मन जित्ने उनको भनाइ छ ।

“मलाई पेट्रोलियम पाइपलाइन बनाउनुपर्‍यो, तर आइडिया छैन भने त्यहाँबाट आइडिया लिन सक्छु, यसले म घोत्लिएर कस्तो हुन्छ भनेर समय खेर फाल्नु परेन । मलाई चिठी लेख्नुपर्नेछ, तर आइडिया छैन भने त्यसबाट लिन सक्छु,” विराज भन्छन्, “तर, च्याटजीपीटीले लेखिदिएको लेटर त हामी सिनेमामा राख्न सक्दैनौँ । आइडिया जेनेरेट गर्न र समय बचाउन पनि ठूलो सहयोग एआईबाट भइरहेको छ ।” 

भारतीयले अहिले एआईको माध्यमबाट फिचर फिल्म नै बनाएको तर त्यो सफल नभएको उनी सुनाउँछन् । रियल एक्टरले दिने इमोसन एआईबाट बनाएको एक्टरले दिन नसक्ने उनी बताउँछन् । एक्टरको इमोसन र फिल एआईबाट सम्भव नभएको विराज प्रस्ट पार्छन् ।

एआईले बनाएका पोस्टर अहिले केही नेपाली फिल्ममेकरले सार्वजनिक गरेका छन् । तर, ती मन नपराइएको उनी बताउँछन् । प्रि–प्रोडक्सनसम्म एआई जेनेरेट सामग्री प्रयोग गर्न सकिने तर बजारमा पठाउन नसकिने उनको धारणा छ ।

“म आफैँ पनि हलिउड प्रोजेक्टहरू गरिरहेको हुन्छ । प्रि–प्रोडक्सनसम्म एआईको सहयोग लिएर काम गर्न पाइन्छ,” विराज भन्छन्, “तर, त्यसभन्दा पोस्ट प्रोडक्सनको काम सुरु भएपछि एआईको सहयोग लिन पाइँदैन । उनीहरूले पनि त्यसमा इमोसन हुँदैन भन्छन् ।” 

भीएफएक्स आर्टिस्ट सत्यम राना एआईको कामलाई मूल्यांकन गर्न सक्ने व्यक्तिलाई त्यसले असर नगर्ने बताउँछन् । हरेक व्यक्तिको दिमाग फरक–फरक हिसाबले चल्ने र त्यहीअनुसारको काम हुने उनको भनाइ छ । त्यसैले भीएफएक्स आर्टिस्टको काम एआईले तत्काल खोस्न नसक्ने उनी टिप्पणी गर्छन् ।

टाइम सेवरका हिसाबले एआईलाई लिन सकिने तर क्रिएटिभिटीका हिसाबले स्किल मेनपावरलाई विस्थापन गर्न नसक्ने उनको तर्क छ । “कसैलाई तीन घण्टामा सिनेमाको पोस्टर चाहियो भन्यो भने त्यो ग्राफिक डिजाइनबाट सम्भव छैन । एआईबाट मात्रै सम्भव छ । तर, त्यस्तो पोस्टर क्रिएटिभ हुँदैन ।” 

एआईले काममा सहयोग गर्ने उनी बताउँछन् । आफूले पनि एआईको सहयोग लिने गरेको उनी सुनाउँछन् । “मेरो बुझाइमा एआईको विकास मान्छेलाई सहयोग गर्नलाई नै भएको हो । मैले पनि यसको सहयोग लिने गरेको छु । टाइम सेवरको काम भने यसले गरेको छ,” सत्यम भन्छन्, “एआईले हाम्रो काममा कसरी सहयोग गर्छ भनेर त्यसको युटिलाइज गर्ने हो । हामीले गर्नेभन्दा राम्रो काम हुँदैन भने यसमा भर पर्नु भएन । यदि, यसैमा भर पर्ने हो भने गलत भयो ।”

एआईलाई १५ मिनेटमा स्क्रिप्ट लेखिदेऊ भने लेखिदिने तर त्यसमा सिनेमा बनाउन सकिने उनी बताउँछन् । मान्छेको दिमागले सोच्ने र त्यसरी स्क्रिप्टमा लेख्ने कुरा एआईबाट सम्भव नरहेको उनी प्रस्ट पार्छन् ।

“जसरी एआईले लेखिदिएको स्क्रिप्टमा सिनेमा बनाउन सकिँदैन, भीएफएक्स, एनिमेसन र ग्राफिक्स डिजाइन पनि त्यस्तै हो,” उनी भन्छन्, “यो टेक्निकल विषय भएकाले यसमा धेरै जानकारी नहुने मात्रै हो । गहिरिएर हेर्दा एआईले लेखेको स्क्रिप्टमा जति नै अन्तर ग्राफिक्स डिजाइन, भीएफएक्समा पनि हुन्छ ।” 

एआई मेड र ह्यान्ड मेड प्रस्ट छुट्टिने सत्यम बताउँछन् । एआईबाट आएको सामग्रीलाई नै फाइनल मान्दा त्यसमा ह्युमेन क्रिएटिभिटी नहुने र त्यो कमजोर हुने उनको दाबी छ । “एआईले अहिले ह्युमेन मेनपावर कटौती गर्न थालिसक्यो भन्ने लाग्दैन । टाइम सेभ र केही पैसा बचाइदिएको छ भन्ने लाग्छ,” सत्यम भन्छन् ।

भोलिका दिनमा एआई कति सशक्त भएर आउँछ त्यसबारे अहिले नै केही भन्न नसकिने तर तत्काल स्किल मेनपावरलाई असर नगरेको उनी प्रस्ट पार्छन् । “भोलि कसैले देखेको छैन । मान्छेले गर्ने सबै काम नै एआईले गरिदिन सक्ला, त्यो भोलिको कुरा भयो,” उनी भन्छन्, “यति पनि होला भनेर कसैले सोचेको थिएन ।”

थप परिष्कृत भएर आएको अवस्थामा भने अहिले भइरहेको आकलनलाई नकार्न नसकिने उनी बताउँछन् । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्