site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भनेजस्तै दक्षिण अफ्रिकामा श्वेत किसानको नरसंहार भएकै हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दक्षिण अफ्रिकामा श्वेत अफ्रिकीकानर किसानको जग्गा हडपिएको र नरसंहारको सिकार भइरहेको दाबी गरे । उनले ५९ श्वेत अफ्रिकीकानर किसानलाई अमेरिकामा शरणार्थीका रूपमा बसाइँसराइको अनुमति दिए । 

यही मे १२ मा एक पत्रकारले ट्रम्पलाई अफ्रिकीकानरलाई छिटो शरण दिने प्रक्रिया किन बनाएको भनेर प्रश्न गर्दा ट्रम्पले भनेका थिए, “किनभने ,उनीहरू मारिँदै छन् । हामी मानिस मर्दै गरेको देख्न चाहँदैनौँ । तर, यो नरसंहार हो जसबारे पत्रकारहरू लेख्न चाहँदैनन् ।”

ट्रम्पले थपे, “दक्षिण अफ्रिकामा श्वेत किसान निर्ममतापूर्वक मारिँदै छन् र उनीहरूको जग्गा जफत गरिँदै छ ।”

ट्रम्पले यस्तो दाबी सन् २०१८ देखि गरिरहेका छन् । र, उनका आसेपासे अरू व्यक्तिहरू जस्तै, दक्षिण अफ्रिकी मूलका ट्रम्पका सल्लाहकार एलन मस्क पनि यस्तै भनाइ राख्छन् ।

अफ्रिकीकानरलाई शरण दिने ट्रम्पको निर्णय उनको यसअघिको नीतिको ठिकविपरीत हो । उनले कार्यकाल सम्हालेपछि अमेरिकामा शरणार्थीको प्रवेश रोकेका थिए ।

दक्षिण अफ्रिकी सरकारले फेब्रुअरी ७ मा ट्रम्पले जारी गरेको अफ्रिकीकानरलाई अमेरिकामा शरण दिने आदेशको आलोचना गरेको थियो । “यो विडम्बना हो, किनभने यो आदेशले दक्षिण अफ्रिकाको आर्थिक रूपमा सबैभन्दा विशेषाधिकार प्राप्त समूहलाई अमेरिकामा शरणार्थीको दर्जा दिने व्यवस्था गरेको छ । जबकि, अमेरिकामा विश्वका अरू भागबाट आएका पीडित मानिसलाई वास्तविक कठिनाइ बाबजुद पनि फिर्ता गरिएको छ र उनीहरूको शरण अस्वीकार गरिएको छ,” सरकारी विज्ञप्तिमा भनिएको थियो ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसा मे २१ देखि अमेरिका भ्रमणमा छन् ।

दक्षिण अफ्रिकामा श्वेत किसानको हत्या गरिएको छ । तर, ती हत्या देशभरि हरेक वर्ष २७ हजारभन्दा बढी मानिस मारिने गरेकोको केवल एक प्रतिशतभन्दा कम हो । ती मृत्यु नरसंहारको परिभाषाभित्र नपर्नेले विज्ञले बताएका छन् । साथै, ट्रम्पले जग्गा जफतका बारेमा गलत जानकारी दिएका छन् ।

“दक्षिण अफ्रिकामा श्वेत नरसंहार भइरहेको भन्ने विचार पूर्ण रूपमा गलत छ,” दक्षिण अफ्रिकाको इन्स्टिच्युट फर सिक्युरिटी स्टडिजमा न्याय र हिंसा निवारण कार्यक्रमका प्रमुख गारेथ न्युहामले भने ।

उनले अगाडि भने, “दक्षिण अफ्रिकामा हिंसा र अपराधको अनुगमन गर्ने हामी स्वतन्त्र संस्था होइनौँ । यदि, कुनै जातीय समूहविरुद्ध नरसंहार वा लक्षित हिंसा भएको कुनै प्रमाण हुन्थ्यो भने हामी विश्वलाई चेतावनी दिने र प्रमाण प्रस्तुत गर्ने पहिलोमध्ये एक हुन्थ्यौँ ।”

दक्षिण अफ्रिकामा करिब २७ लाख श्वेत अफ्रिकीकानर बसोबास गर्छन् । उनीहरू डच र फ्रेन्चवासीका वंशज हुन् । देशको करिब ८० प्रतिशत जनसंख्या काला जातिका मानिस छन् । सन् १९४८ देखि १९९० को दशकको सुरुसम्म दक्षिण अफ्रिका रंगभेद (अपार्थेइड)को शासनमा थियो, जसले श्वेतलाई मात्र शक्ति प्रदान गर्‍यो । र, काला दक्षिण अफ्रिकीलाई श्वेतहरूबाट छुट्टै बस्न बाध्य बनायो ।

दक्षिण अफ्रिकाको अपराध तथ्यांक र सीमा
ट्रम्पको भनाइको पक्षमा प्रमाण खोज्न हामीले इमेल पठाउँदा ह्वाइट हाउसले कुनै तथ्यांक उपलब्ध गराएन । एक प्रवक्ताका अनुसार, अफ्रिकीकानरले अमेरिकी अधिकारीलाई किसानविरुद्ध हिंसात्मक आक्रमण, मृत्यु धम्की, तोडफोड र जातीय गालीगलौजका बारेमा जानकारी दिएका थिए ।

गारेथ न्युहामका अनुसार, लगभग सबै कृषि क्षेत्रमा गरिएका हत्याको प्राथमिक उद्देश्य डकैती हो, त्यो लामो समयदेखि दस्ताबेजमा समावेश छ ।

“जातीय वा राजनीतिक उद्देश्यले गरिएको आक्रमण अत्यन्तै दुर्लभ छन् र दर्ता भएका मामिलाको केही प्रतिशत मात्र छन्,” न्युहामले भने ।

उनले देशभरि गरिएका हत्यामा धेरैजसो गरिब, अल्परोजगार वा बेरोजगार युवा कालो छालाका पुरुषहरू भएको बताए । “हत्याको सिकार हुनेमा जातिभन्दा पनि वर्ग, लिंग र स्थानको धेरै बढी सम्बन्ध छ,” न्युहामले भने, “करिब आधा हत्याहरू देशको १२ प्रतिशत प्रहरी क्षेत्रमा हुने गर्छन्, जुन प्रायः सहरोन्मुख स्थान वा महानगरका गरिब क्षेत्र हुन्, जहाँ बहुसंख्यक अफ्रिकी मूलका मानिस बस्छन् ।”

सन् २०२२ अप्रिल १ देखि २०२३ मार्च ३१ सम्मको दक्षिण अफ्रिकी प्रहरी सेवाको अपराध प्रतिवेदनानुसार, देशभरि कुल २७ हजार ४९४ हत्यामध्ये ५१ हत्या कृषि क्षेत्रसँग सम्बन्धित थिए । तर, यी तथ्यांकाका पनि आफ्नै सीमा छन् ।

जोहान्सबर्ग विश्वविद्यालयको सामाजिक विकास केन्द्रका वरिष्ठ शोधकर्ता एन्थोनी काजिबोनिका अनुसार, आधिकारिक तथ्यांकमा कृषि क्षेत्रमा हत्याका पीडितको जाति एकरूपताले दर्ता गरिएको छैन ।

अनौपचारिक प्रमाणले धेरै पीडित श्वेत छन् भन्ने देखाउँछ । तर, अरू पीडित कालो वा अश्वेत पनि भएका उनले बताए । “मिडिया रिपोर्टमा कहिलेकाहीँ जाति उल्लेख गरिएको हुन्छ, तर यो नियमित छैन र प्रणालीगत जातिलक्षित दाबीलाई समर्थन गर्ने आधार पनि पर्याप्त रूपमा छैन ।”

कृषि क्षेत्रका बारेमा एक पुस्तक लेखेका र यो विषयमा तथ्यजाँच गर्ने पत्रकार नेचामा ब्रोडीले बताएअनुसार, दक्षिण अफ्रिकी प्रहरीले कृषि क्षेत्रमा हत्याको गणना प्रभावकारी ढंगले गर्न सकेको छैन । एक चुनौती भनेको कसलाई किसानका रूपमा गणना गर्ने भन्ने निर्णय हो, किनभने व्यावसायिक खेतहरू र साना जग्गाहरू छन्, ती केवल सामान्य जग्गा पनि हुन सक्छन् । 

ब्रोडीले अफ्रिकानरमा केन्द्रित गैरसरकारी संस्था अफ्रिफोरमलाई श्वेत अफ्रिकी किसानको हत्याको विश्वसनीय स्रोत मानेकी छन् ।

उनका अनुसार, अफ्रिकानरमा केन्द्रित गैरसरकारी संस्था अफ्रिफोरम श्वेत अफ्रिकान्स भाषी किसानको हत्याका बारेमा विश्वसनीय जानकारी प्रदान गर्नेमध्ये एक हो । प्रहरी, निजी सुरक्षा सेवा, पीडित र मिडिया रिपोर्टमा आधारित अफ्रिफोरमको तथ्यांकले प्रतिवर्ष करिब ५० कृषि क्षेत्रका अफ्रिकानरको हत्या देखाएको छ ।

ब्रोडीले श्वेत कृषि फार्म मालिकको मृत्यु ग्रामीण साना किसानको हत्याभन्दा मिडियामा धेरै कभरेज हुने बताइन् । देशका अधिकांश साना किसान र ग्रामीण बासिन्दा काला जातिका हुन् ।

“दक्षिण अफ्रिकी मिडियाले हत्यापीडितको छानीछानी कभरेज गर्छ र को सबैभन्दा बढी जोखिममा छन् भन्ने कुराको गलत चित्रण गर्छ,” ब्रोडीले भनिन् ।

सरकारले संगठित रूपमा हत्या गराएको प्रमाण छैन
अमेरिकी विदेशी मन्त्रालयलाई दक्षिण अफ्रिकामा श्वेत किसानको नरसंहारको प्रमाणका निम्ति प्रश्न गर्दा एक प्रवक्ताले आफूहरूसँग यसको निर्धारणका सम्बन्धमा घोषणा गर्न केही नभएको बताए ।

संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् १९४८ मा लेखिएको नरसंहारको आधिकारिक परिभाषामा ‘कुनै राष्ट्रिय, जातीय, नस्लीय वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले हत्या, शारीरिक क्षति, जन्म रोक्ने वा बालबालिकाको जबरजस्ती स्थानान्तरण’लाई नरसंहार भनिएको छ । यो परिभाषामा नरसंहारका रूपमा योग्य हुन आवश्यक निश्चित संख्या वा प्रतिशतको उल्लेख छैन ।

अमेरिकन युनिभर्सिटीका प्रतिष्ठित प्रोफेसर एमेरिटस र होलोकस्टसम्बन्धी पुस्तकका लेखक रिचार्ड ब्रेटम्यानले भने, “तर, धेरै विज्ञले सम्पूर्ण जातीय, धार्मिक वा राष्ट्रिय समूहलाई नष्ट गर्ने उद्देश्यलाई आवश्यक मान्छन् । यो केवल पीडितको संख्याको मामिला होइन, तर सरकार वा राजनीतिक संगठनद्वारा निश्चित शत्रु समूहको ठूलो प्रतिशतलाई लक्ष्य बनाउने संगठित प्रयास हो ।”

काजिबोनिले भने, “कुनै राज्य–प्रायोजित अभियान वा विशिष्ट जातीय समूहलाई समाप्त गर्ने यी हत्याले संकेत गर्दैन । प्राथमिक उद्देश्य डकैती नै हो, त्यो दक्षिण अफ्रिकाको हिंसात्मक अपराधको व्यापक ढाँचासँग मेल खान्छ। ”

काजिबोनीले अगाडि भने, “‘जेनोसाइड’ शब्दले होलोकास्टको भयावहतालाई सम्झाउँछ, जसमा ६० लाख यहुदी मारिएका थिए । सन् १९९४ मा भएको रुवान्डा जेनोसाइडमा आठ लाख टुट्सी व्यवस्थित रूपमा मारिएका थिए ।” 

उनले थपे, “यो पृष्ठभूमि र संयुक्त राष्ट्रसंघको कानुनी परिभाषाका आधारमा कृषि क्षेत्रमा हुने हत्यालाई जेनोसाइड भन्नु गलत र भ्रामक कुरा हो । यसले हिंसाको गम्भीरता वा ग्रामीण सुरक्षा बढाउने आवश्यकतालाई समाधान गर्दैन । तर, यसले प्रमाण र प्रसंगसहित प्रतिक्रिया दिने महत्त्वलाई जनाउँछ ।”

युरोपियन प्रोग्रेसिभ स्टडिज फाउन्डेसनको अब्जर्भेटरी अफ पोलिटिकल र्‍याडिकलिज्मका सहनिर्देशक जीन–इभ्स काम्युले भने, “यो मुद्दा अपराध र ग्याङ गतिविधिबाट पीडित देशको व्यापक पक्षमा हेर्नुपर्छ ।”

एपार्थेइडको समयमा गैरश्वेत परिवारले आफ्ना घर र जग्गा गुमाए । सन् १९९० को दशकको मध्यतिर एपार्थेइड समाप्त भएपछि सरकारले दशकौँदेखि भेदभाव र अत्याचारबाट माथि उठाउन काला दक्षिण अफ्रिकीलाई मद्दत गर्न कानुन पारित गर्‍यो ।

राष्ट्रपति रामापोसाले गएको जनवरीमा एक विधेयकमा हस्ताक्षर गरे, जसले सार्वजनिक उद्देश्यनिम्ति सरकारले जग्गा अधिग्रहण गर्ने प्रक्रियालाई स्पष्ट पार्छ । विधेयकअनुसार, जग्गा मालिकलाई मुआब्जा दिन आह्वान गरिन्छ । स्टेलेनबोस विश्वविद्यालयका प्राध्यापक जा–जा टेमर्स बोगेन्पोलले लेखेका छन्, “भुक्तानी नगरिएका अवस्था ‘अत्यन्तै सीमित’ छन् ।”

उनले अगाडि लेखेका छन्, “दक्षिण अफ्रिकाको औपनिवेशिक र एपार्थेइड कालमा जातिको आधारमा असमान जग्गा वितरण थियो । देश अहिलेसम्म यसको प्रभावबाट पीडित छ । त्यसैले सम्पत्ति अधिग्रहण जग्गा असमानता कम गर्ने सम्भावित उपाय हो । यो बढ्दो आवश्यकताको विषय बनेको छ । दक्षिण अफ्रिकीले जग्गा सुधारको ढिलाइप्रति असहनशीलता देखाएका छन् ।”

न्युहामले भने, “नयाँ कानुनको मुख्य उद्देश्य भनेको सरकारलाई कानुनी रूपमा कम प्रयोग हुने जग्गा वा सयौँ मालिकले छोडेका वा भवनहरू र संगठित अपराधमा संलग्न व्यक्तिहरूले कब्जा गरेका लिन अनुमति दिनु हो ।”

तर, हालसम्म कुनै पनि जग्गा जफत भएको विज्ञले बताएका छन् । “श्वेत किसान वा अरू कसैलाई लक्षित गरेर व्यवस्थित जग्गा जफत भएको कुनै प्रमाण छैन,” काजिबोनीले भने । पब्लिक बोर्डकास्टिङ सर्भिसबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्