site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन क्षेत्रको विकास गर्न राम्रो ऐन बनाउन चाहन्छौँ : मन्त्री पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफूले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउन चाहेको बताएका छन् । राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक, २०८१ माथि भएको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउन संशोधन गर्न तयार रहेको बताए ।

"हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रबर्द्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ," उनले भने ।

मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउन राष्ट्रियसभाले महसुस गरेको पनि बताए । "दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउनेछौँ । समितिमा लगेर छलफल गर्नेछौँ । मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सदृढ बनाउनका लागि संशोधन गर्न तयार छौँ," उनले भने ।

उनले पर्यटनमा निजी क्षेत्रलाई समेट्न निजी क्षेत्रमैत्री व्यवस्था पनि मिलाउनुपर्ने बताए । "निजी क्षेत्रलाई मन खोलेर लगानी गर्न सक्‍ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्नेछ । यसलाई कानुनको माध्यमबाट स्थापित गर्नेछौँ । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौँ," उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्