site stats
बाह्रखरी :: Baahrakhari
खेल
मध्यपुरको सुखद अन्त्य

काठमाडौं । नयाँबस्ती युथ क्लबविरुद्ध जित निकाल्दै मध्यपुर युथ एसोसियसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मध्यपुरले नयाँबस्तीविरुद्ध ४–० को जित निकालेको हो ।

मध्यपुरको जितमा विज्ञान खड्काले दुई गोल गरे । त्यसैगरी राहुल खड्का र साहिल केसीले समान एक गोल गरे ।

खेलको ३८औँ मिनेटमा विज्ञानले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । ४०औँ मिनेटमा विज्ञानले अग्रतालाई दोबर बनाए । ६६औँ मिनेटमा राहुलले टोलीको अग्रतालाई ३–० को अवस्थानमा पुर्‍याए । ७९औँ मिनेटमा साहिलले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै मध्यपुरले १८ अंककासाथ लिग टुंग्याएको छ । मध्यपुरले १२ खेलमा पाँचौँ जित निकाल्दै तीन बराबरीसहित १८ अंकको नतिजा आत्मसाथ गरेको हो ।

लिगमा मध्यपुरले झापा फुटबल क्लबविरुद्ध २–१, सरस्वती युथ क्लबविरुद्ध १–०, श्री कुमारी क्लबविरुद्ध ३–१, बाँसबारी क्लबविरुद्ध १–० र नयाँबस्तीविरुद्ध ४–० को नतिजा आत्मसाथ गरेको हो ।

पराजित नयाँबस्ती भने अन्तिम खेलमा पनि हार बेहोर्दै ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ । नयाँबस्तीको यो हार १०औँ हार हो । नयाँबस्ती यसअघि ११औँ चरणमा लिगबाट बाहिरिएको थियो । यस संस्करणमा टोलीले १२ खेलमा एक जित, दुई बराबरी र १०औँ हारबाट पाँच अंकमा सीमित भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्