site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा तीनवटा साप्ताहिक 'रिन्यूअल प्याक'

काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक सञ्चालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याइएका हुन् ।

मंगलबार (जेठ ६ गते) देखि यी प्याकहरू लागु भएका छन् । भ्वाइस प्याकअन्तर्गत ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित ९९ रुपैयाँमा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा दुई जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैँ अन प्याक लिन सक्छन् । यसैगरी डेटा मात्र चाहने ग्राहकले  १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् ।

यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफैँ रिन्यू हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरू लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले *१२३*९#  डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।

ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरू रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरू सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरू निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक सात दिनको रिन्यूअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्