
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले गाजामा भोकमरी र खाद्य संकटको अवस्था चरम रहेको बताएका छन् । उनीहरूलाई सहयोग सामग्री नपुगेको खण्डमा अर्को ४८ घण्टामा १४ हजार बालबालिकाको मृत्यु हुनसक्ने बताएका छन् ।
बीबीसी रेडियोसँगको अन्तर्वार्तामा उनले भने, “म यी १४ हजार बालबालिकामध्ये जति धेरैलाई सकिन्छ त्यतिलाई बचाउन चाहन्छु । यसका लागि हामीले गाजापट्टीमा मानवीय सहयोगको बाढी ल्याउनुपर्छ ।”
यो संख्या कसरी निकालियो भन्ने प्रश्नमा फ्लेचरले भने, “हामीसँग जमिनमा सहायता टोलीहरू छन् उनीहरूले यो अनुमान गरेका हुन् ।”
इजरायलले ११ हप्ताको नाकाबन्दीपछि आइतबार गाजामा सहयोग पठाउन अनुमति दिने घोषणा गरेको थियो । तर, संयुक्त राष्ट्रसंघका मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले त्यो पर्याप्त नभएको बताए । उनले सोमबार पाँचवटा सहायता ट्रक नाकाबन्दीपछि गाजा पुगे पनि हाल समुदायसम्म नपुगेको बताए ।
फ्लेचरले मंगलबार केरम शालोम नाकाबाट हाम्रा ९ ट्रक प्रवेश गर्न अनुमति पाएका तर यो आवश्यकताको तुलनामा एकदम कम भएको बताए । उनले भोलि बिहानदेखि धेरै सहयोग गाजामा पठाउन अनुमति दिनुपर्ने बताए ।
सोमबार पाँच ट्रक पुगेपछि, फ्लेचरले मंगलबार १०० ट्रक गाजा पठाउने आशा व्यक्त गरेका छन् ।
उनले भने, “लुटपाट घटाउन पनि गाजामा नियमित रूपमा सहयोग पुग्नुपर्छ, र धेरै मार्गहरू प्रयोग गर्न अनुमति दिनुपर्छ । व्यावसायिक सामानहरूले पनि मानवीय प्रतिकार्यलाई सहयोग गर्नुपर्छ ।”