
काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको हैसियत जोगाएको छ ।
सोमबार (जेठ ६ गते) सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा च्यासललाई ४–१ ले पराजित गर्दै ब्रिगेडले रेलिगेसन जोनमा रहेको श्री टुसाल युवा क्लबसँग अंक दुरी बढाएको हो ।
जितबाट तीन अंक जोड्दै ब्रिगेड सातौँ स्थानमा उक्लिएको छ । सातौँ स्थानमा उक्लिएको ब्रिगेडले चौथौ जित निकाल्दै १२ खेलमा चार जित, तीन बराबरी र पाँच हारबाट १५ अंक जोडेको हो । यो नतिजासँगै टोलीले रेलिगेसन क्षेत्रमा रहेको टुसालसँग चार अंकको अग्रता कायम गरेको छ ।
अब लिगको अन्तिम खेल टोलीले वीरगञ्ज युनाइटेडसँग खेल्नेछ । यो खेलमा ब्रिगेड पराजित भए पनि रेलिगेसनबाट सुरक्षित छ ।
पराजित च्यासल भने लिगको १०औँ स्थानमा झरेको छ । च्यासल पाँचौँ हार व्यहोर्दै १२ खेलमा चार जित, तीन बराबरी र पाँच हारबाट १५ अंकमा सीमित छ ।
सोमबार बिग्रेडलाई जिताउन टोलीका मुकुन्दकुमार निउरेले ‘ह्याट्रिक’ गर्दा रोमन श्रेष्ठले एक गोल गरे । च्यासलका कमल थिङले टोलीको निम्ति एक गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको नवौँ मिनेटमा रोमनले च्यासललाई अग्रता दिलाए । खेलको ४३औँ, ५३औँ र ७१औँ मिनेटमा मुकुन्डले गोल गर्दै टोलीको अग्रतालाई ४–१ को अवस्थामा पुर्याए ।
त्यसअघि १३औँ मिनेटमा च्यासलका कमलले एक गोल फर्काए पनि टोलीलाई खेलमा पुनरागमन गर्न पर्याप्त थिएन ।