
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको गुप्तचर प्रतिवेदनबाट चुहावट भएको विवरण प्रकाशित गर्ने पत्रकारलाई स्रोत खुलासा गर्न बाध्य पार्नेबारे सोचिरहेको बताएका छन् । उक्त प्रतिवेदनमा हालैका अमेरिकी सैन्य हवाई हमलाको प्रभाव मूल्यांकन गरिएको थियो ।
ट्रम्पले ती पत्रकारले स्रोत नखुलाए मुद्दा चलाउन सक्ने बताएका द गार्जियनले जनाएको छ । आइतबार फक्स न्युजसितको अन्तर्वार्तामा उनले जुन २१ मा इरानमा गरिएको हवाई हमलाबाट त्यहाँको आणविक कार्यक्रम नष्ट गरेको दाबी दोहोर्याए ।
उनले इरानको प्रमुख परिष्कृत युरेनियम भण्डार आक्रमणबाट नष्ट भएको जिकिर गरे । इरानले भने त्यहाँका सामग्री हमलापूर्व नै स्थानान्तरण गरिएको जनाएको छ ।
उक्त गुप्तचर प्रतिवेदनमा अमेरिकी हमलाबाट इरानको आणविक विकासमा अस्थायी रूपमा मात्र अवरोध पुगेको उल्लेख थियो । यसलाई ट्रम्पले अपूर्ण र पक्षपातपूर्ण भन्दै खारेज गरेका थिए ।