site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र जनप्रतिनिधिबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अध्यक्ष माझीले ग्रामथान वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई ‘ठिक पारिदिने’ भन्दै भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएपछि विवाद फेरि चुलएिको हो ।

यसअघि, माझीको कार्यशैलीप्रति असन्तुष्ट जनप्रतिनिधिले पटकपटक कार्यपालिका बैठक बहिस्कार गरेका थिए । पछिल्लोपटक माझीले वडाध्यक्ष खतिवडालाई धम्की दिएपछि नेकपा (एमाले) मोरङले विरोध गरेको छ ।

माझी उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका हुन् । यादव एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

खतिवडाले वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएपछि उनीमाथि भौतिक आक्रमणको धम्की आएको एमाले मोरङले जनाएको छ । भुक्तानी दिन भन्दै वडाहरूले वैशाख ३० गते दबाबमूलक कार्यक्रम गरेका थिए ।

अध्यक्ष माझीले स्थानीय स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष खतिवडालाई सार्वजनिकस्थलमै गालीगलौज गरेका थिए । अध्यक्ष माझी, गयालाल माझीसहितका व्यक्तिले कार्यक्रमस्थलमा पसेर आफूलाई ‘ठेगान लगाइदिने’ धम्की दिएको खतिवडा बताउँछन् ।

एमाले मोरङका अध्यक्ष अजम्बर राईले एक विज्ञप्तिमार्फत वडाध्यक्षलाई धम्की दिने काम भएकाले जिउधनको सुरक्षा माग गरेका छन् । उनी धम्की दिने कार्यमा संलग्नलाई कानुनी कारबाहीको मागसमेत गरेका छन् । 

यसअघि, खोला ठेक्का र वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा उच्च अदालत विराटनगरमा रिट परेको थियो । ती निर्णय कार्यान्वयन नगराउन अदालतले आदेश दिएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्