
काठमाडौं । नरेन्द्र मोदी सरकारले भारतकाे कश्मीरस्थित पहलगाम आतंकवादी हमला र सैन्य अभियान ‘अपरेसन सिन्दूर’को बारेमा विश्वभरका विभिन्न देशलाई जानकारी दिन विभिन्न सांसदको प्रतिनिधिमण्डलहरूलाई पठाउने निर्णय गरेको छ ।
यसका लागि आठवटा प्रतिनिधिमण्डल गठन गरिएको द इकोनोमिक्स टाइम्सले जनाएको छ । प्रत्येक प्रतिनिधिमण्डलमा कम्तीमा पाँच सांसद र एक वरिष्ठ कूटनीतिज्ञलाई समावेश गरिएको छ । साथै, केही गैरसांसदहरू पनि यस अभियानमा सामेल छन् ।
उक्त प्रतिनिधिमण्डले मे २१–२२ मा विदेश प्रस्थान गर्ने र उनीहरूको गन्तव्यमा संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपियन युनियन, रूस, जापान, दक्षिण अफ्रिका र पश्चिम एसिया लगायतका क्षेत्रहरू पर्छन् ।
वरिष्ठ कूटनीतिज्ञहरूले सांसदहरूलाई उनीहरूको प्रस्तुतिमा सहयोग गर्नेछन् । यस सूचीमा पूर्वविदेश सचिव एचवी श्रृंगला, फ्रान्सका पूर्वभारतीय राजदूत जावेद अशराफ र मोहनकुमार तथा जापानका पूर्वराजदूत सुजान चिनोय समावेश छन् ।
कांग्रेस सांसद सलमान खुर्शिदले दक्षिण र दक्षिणपूर्व एसियाली देशहरू जस्तै दक्षिण कोरिया, जापान र सिंगापुरसम्मको प्रतिनिधिमण्डल नेतृत्व गर्ने बताइएको छ । जदयू सांसद संजय झा र श्रृंगला पनि यस प्रतिनिधिमण्डलमा सामेल छन् । सुप्रिया सुले (एनसीपी) र श्रीकांत शिंदे (शिवसेना)ले पनि आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । सुलेको प्रतिनिधिमण्डलमा राजीव प्रताप रूडी (भाजपा), अनुराग ठाकुर (भाजपा), मनीष तिवारी (कांग्रेस), बृजलाल (भाजपा) र तेजस्वी सूर्य (भाजपा) समावेश छन् ।
एआईएमआईएम नेता असदुद्दीन ओवैसी पनि एक प्रतिनिधिमण्डलको सदस्य हुनेछन् । डीएमके नेता कनिमोझीले रूस जाने प्रतिनिधिमण्डल नेतृत्व गर्नेछिन् । आरजेडी सांसद प्रेमचन्द गुप्ता उनको टोलीमा छन् ।
यसैगरी कांग्रेस सांसद शशी थरूरले अमेरिका जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री गुलाम नबी आजादले यूके, फ्रान्स, जर्मनी र ब्रसेल्सस्थित युरोपियन युनियन (ईयू)को मुख्यालयसम्मको भ्रमण गर्ने प्रतिनिधिमण्डलको नेतृत्व गर्ने सम्भावना छ ।
बीजेडीका राज्यसभा नेता ससमित पात्रा, टीडीपीका लोकसभा नेता लावु श्री कृष्णदेवराय र भाजपा सांसद जय पाण्डा पनि विभिन्न प्रतिनिधिमण्डलहरूमा सामेल हुने सम्भावना छ ।
भाजपाका आरएस प्रसादले साउदी अरबलगायत पश्चिम एसियाली देशहरूमा जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । समाजवादी पार्टीका सांसद राजीवकुमार राय पनि एक प्रतिनिधिमण्डलमा सामेल छन् ।
त्रिणमूल कांग्रेसका सांसद सुदीप बन्द्योपाध्यायलाई पनि निमन्त्रणा गरिएको थियो, तर उनले लामो दुरीको यात्रा गर्न उपयुक्त नभएको जानकारी दिएका छन् ।