
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । पर्यटकीय सिजनमा आरोही र शान्ति सुरक्षासम्बन्धी अवस्थाको अवलोकन गर्न शनिबार (जेठ ३) उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।
त्यसक्रममा गृहमन्त्री लेखकले सरकार सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकको सहजताका निम्ति निर्बाध रूपमा हेलिकोप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धानिम्ति हेलिकोप्टर अत्यावश्यक रहेको उल्लेख गरे ।
सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने उनले स्पष्ट पारे । “हामी उद्धारका हेलिकोप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ,” उनले भने ।
सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकोप्टर उडान रोक्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकोप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको गृह मन्त्रालयले जनाएको छ ।
पर्यटन व्यवसायीले भने हेलिकोप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन्
अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेका बताए । समस्या समाधानका निम्ति सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।