
काठमाडौं । नेपालले द्वन्द्वग्रस्त मुलुकहरूमा यौन शोषण र दुर्व्यवहारमा परेका पीडितहरूको लागि सहयोग गर्न १६ हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
रक्षामन्त्री मानवीर राईले जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ सम्मेलनलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
“उहाँ (रक्षामन्त्री)ले द्वन्द्वग्रस्त मुलुकहरूमा यौन शोषण र दुर्व्यवहारमा परेका पीडितहरूको लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसंघको ट्रष्ट फन्डमा अमेरिकी डलर १६ हजार योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो,” रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका हुन् । सम्मेलनको साइडलाइनमा रक्षामन्त्री राई र चीनका रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा रहेका दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयहरूमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।