site stats
बाह्रखरी :: Baahrakhari
खेल
बहराइनसँगको जितका बाबजुद नेपालको ‘प्ले–अफमा’ कमजोर सम्भावना

काठमाडौं । नेपालले टी–ट्वान्टी महिला क्रिकेट विश्वकपअन्तर्गत एसियन छनोटको ‘प्ले अफ’मा झिनो सम्भावना कायम राखेको छ । बिहीबार नेपालले समूह चरणको अन्तिम खेलमा डकवर्थ लेविस स्टेन (डीएलएस) प्रणालीबाट बहराइनविरुद्ध ६ विकेटको जित निकाल्दै नेपालले ‘प्ले अफ’ मा झिनो सम्भावना कायम राखेको हो । 

समूह ‘सी’ मा रहेकाे नेपालले चार खेल खेल्दा दुई जित र एक हारबाट पाँच अंक जोडेको छ । समूहमा एक खेल कम खेलेको हङकङले तीन खेलमा एक जित, दुई रद्द र एक हारसहित चार अंक बनाएको छ । पराजित बहराइनले तीन खेलमा दुई हार र एक रद्द खेलसहित एक अंक जोडेको छ । 

अब बहराइन र हङकङबीचको खेलको नतिजाले नेपालको आगामी यात्रा तय गर्नेछ । बिहीबार बैंककको तेर्थदाई क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले ७७ रनको लक्ष्य पछ्याउने क्रममा ५.४ ओभर खेल्दा ५६ रन बनाएको थियो । तर यसपछि वर्षाका कारण खेल रद्द हुँदा नेपाल डीएलएसअनुसार ६ विकेटले विजयी भएको हो । 

नेपाललाई जित दिलाउन कप्तान इन्दु बर्माले सर्वाधिक २४ रन बनाइन् । उनले सात बलमा चार चौका र एक छक्का प्रहार गरिन् । पूजा महतोले १३ रन जोडिन् । 

बलिङतर्फ बहाराइनका पभित्रा शेठीले तीन विकेट लिइन् । उनले दुई ओभरमा १० रन खर्चिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले १२ ओभरमा तीन विकेटको क्षतिमा ७६ रनको योगफल खडा गरेको थियो । बहराइनका रशिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन् । उनले २९ बलमा तीन चौका प्रहार गरिन् । कप्तान दिपिका रसन्जिकाले २३ रन र थारंगा गजनायकेले १२ रन जोडे ।  बलिङतर्फ नेपालले तीनै विकेट रन आउटमा लिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्