site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलविद्युत्‌मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतकाे महत्वपूर्ण भूमिका रहने बताए । बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न उनको आग्रह छ । 

Argakhachi Cement Island Ad

सन् १९९९ अघि नेपालको कुल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै नेपालले तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याए कार्कीले बताए । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात् २८०० मेगावाट पुगेको उनले  जानकारी गराए ।

फ्रान्सको साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाइ छ । 

त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए । 

यो परियोजनाका लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्