site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं प्लाजामा फोहोर पानी प्रशोधन प्रणाली जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । 

दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । 

२० लाख रुपैयाँमा ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो ।

“यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ,” वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, “काठमाडौंको स्वच्छताका लागि घरेलु फोहोर व्यवस्थापनसँगै तरल फोहोर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।”

“३.६० मिटर लम्बाइ, १.२० मिटर चौडाइ र १.९८ मिटर उचाइ भएको प्लान्टभित्र चारवटा च्याम्वर छन्,” वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्छिन्, “शौचालयबाट केही ठोससहितको फोहोर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ ।”

त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि)बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि)बाट र  चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहीत हुने उनको भनाइ छ । यो पानी बोटविरुवामा हाल्न मिल्ने बताइएको छ । 

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ । 

यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्