
काडमाडौं । युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले सोभियतकालीन अन्तरिक्ष यान कोसमोस ४८२ को एक टुक्रा आधा शताब्दीभन्दा बढी समयसम्म पृथ्वीको कक्षमा अड्केर अहिले वायुमण्डलमा पुनः प्रवेश गरेको दाबी गरेको छ ।
सन् १९७२ मा शुक्रग्रहमा पठाइएको उक्त यान पृथ्वीको कक्षबाट निस्कन नसकेर चार टुक्रामा विभाजित हुँदै ५० वर्षभन्दा बढी समयदेखि पृथ्वी वरिपरि घुमिरहेको थियो ।
युरोपेली स्पेस सर्भिल्यान्स र ट्र्याकिङ केन्द्र (एसएसटी)ले शनिबार करिब ०६ः१६ जिएमटीमा यसको एक टुक्रा (ल्यान्डर) वायुमण्डलमा पुनः प्रवेश गरेको बताएको छ ।
यो टुक्रा जमिनमा झरेको हो कि वायुमण्डलमा नै जलेको हो भन्ने स्पष्ट छैन । साथै, यो कहाँ गयो भन्ने पनि निश्चित छैन ।
विज्ञहरूले यसको वायुमण्डल प्रवेशबारे धेरै कुरा अनिश्चित भएको बताए पनि पृथ्वीमा झरेको खण्डमा पृथ्वीको ७० प्रतिशत भूभाग समुद्रले ढाकिएकाले यसले ठूलो क्षति पुर्याउने सम्भावना कम रहेको बताइएको छ ।
कोसमोस ४८२ को ल्यान्डर क्याप्सुल शुक्रको वायुमण्डलको तीव्र ताप र दबाब सहन सक्ने गरी बनेको थियो । यसैले यसमा मजबुत ताप जोगाउने र टिकाउने संरचना थियो जसले गर्दा पृथ्वीको वायुमण्डलमा अनियन्त्रित ढंगले झर्दा पनि यो बच्न सक्ने बताइएको छ ।
तर, अन्तरिक्षमा ५० वर्षभन्दा बढी समय रहेपछि यसको प्यारासुट प्रणाली क्षय भएको हुन सक्ने बताइएको छ ।
ईएसएका एक वरिष्ठ विश्लेषक स्टिजन लेमेन्सले भने, “मानवनिर्मित वस्तुहरू पृथ्वीको वायुमण्डलमा प्रायः पुनः प्रवेश गर्छन् । ठूला यानहरू साप्ताहिक र साना दैनिक रूपमा यस्तो गर्छन् ।”
सामान्यतया यस्ता वस्तुहरू जमिनमा पुग्नुअगाडि नै घर्षणका कारण वायुमण्डलमा जल्ने गरेको बताइन्छ । सन् २०२२ मा चीनको लोङ मार्च ५बी बुस्टर भारतीय महासागरमा र २०१८ मा तियानगोङ–१ स्पेस स्टेसन प्रशान्त महासागरमा जलेर नष्ट भएको थियो ।
अहिले कोसमोस ४८२ लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष संस्थाहरूले नजिकैबाट नियालिरहेका छन् ।
लेमेन्सले भने, “भविष्यका यानहरू नियन्त्रित पुनःप्रवेश गर्न सक्ने गरी डिजाइन गर्नुपर्छ किनभने यसले यान खस्न सक्ने स्थानको अनुमान गर्न मद्दत गरी मानव बस्ती र वातावरणमा जोखिम घटाउँछ ।”