site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झन्डै ज्यान गएको ! 
Tiktok banner adTiktok banner ad

देश द्वन्द्वको भुमरीमा फसेको बेला थियो । दिनदहाडै मानिस मारिएका, अपहरणमा परेका, घाइते भएका खबरले अखबारका पाना भरिएका हुन्थे । यसबाट बागलुङ अछुतो रहने कुरै भएन ।

रेडक्रस जिल्ला शाखामा म केन्द्रबाट खटिएको थिएँ । तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ मा ‘कू’ गरेपछि देशभर प्रायोजित नागरिक अभिनन्दन हुँदै थियो । त्यसैक्रममा धौलागिरि अञ्चलस्तरीय अभिनन्दन बागलुङमा हुने सुन्नमा आयो ।

म अलिअलि राजनीतिक चस्का लागेको मान्छे । परिवर्तनको पक्षमा थिएँ । निरंकुशता कुनै मानेमा मान्य नहुने भन्ने मनको परेँ म । रेडक्रसजस्तो पवित्र संस्थामा जागिर, खुलेर हिँड्ने कुरा पनि थिएन ।

बस्नलाई अफिसले ढिलै भए पनि कोठा (सुरुमा भएको कोठा पनि मलाई दिइएको थिएन) व्यवस्था गरिदिएको थियो । बाहिर एउटा परिवारमा बिहान–बेलुकीको खाना खान्थेँ । शनिबार फिल्डमा नगएको बेला नुहाइधुवाइ गर्ने, कालीगण्डकीतिरका छाप्राहरूमा माछा खान जाने र बजारमा टहलिने काम हुन्थ्यो ।

‘ढोरपाटन दैनिक’ नामको पत्रिका निस्कन्थ्यो त्यहाँबाट । म कहिलेकाहीँ समसामयिक विषयमा लेखहरू लेख्थे । मैले लेख्ने पत्रिकाका प्रधानसम्पादक हरिनारायण गौतम हुनुहुन्थ्यो । कहिलेकाहीँ त्यतातिर पनि जान्थेँ । धवलागिरि क्याम्पस गेटमै गोविन्दबहादुर नेपाली (अहिले सायद एमालेका केन्द्रीय सदस्य तथा माननीय छन्)को पुस्तक पसल थियो । त्यहाँ गएर उनीसँग गफिन्थेँ । पुस्तक मागेर पढ्थेँ ।

२०६० सालको महिना चैत थियो । गते सम्झना भएन । तत्कालीन राजा ज्ञानेन्द्रको अभिनन्दनको लागि आर्मीको पृतनानजिकै खाली ठाउँमा सजावट हुँदै थियो । केही दिनदेखि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो, कुनै अप्रिय घटना नघटोस् भनेर ।

शुक्रबारको दिन अचानक गोली चल्यो भन्ने खबर लिएर धम्मर दाइ आइपुगे अफिसमा । धम्मर दाइ अर्थात् एम्बुलेन्स चालक ।

‘चम्मै गोली चल्यो नि सर । आमा हो ! ठाउँको ठाउँ ढले ।’

मैले आत्तिएर सोधेँ, ‘को ढल्यो दाइ ?’

‘रेडक्रसका सभापति, जिविस सभापति टीकाराम बुढा र जिल्ला विकास समितिको लेखापाल जिल्ला विकासको परिसरनजिकको मिठाई पसलमा चिया खाइरहेका थिए । त्यतिकैमा एउटा केटोले आएर कम्मरबाट पेस्तोल निकालेर हानेछ । लेखापाललाई लाग्यो । एम्बुलेन्समै अस्पताल पुर्‍याएर आ’को मैले । अवस्था नाजुक छ सर,’ उनी निस्सासिएर बोले ।

‘ला, हो र !,’ म पनि आत्तिएँ ।

‘सरलाई बजार जानु भनेर कुलानन्द काकाले भन्नुभा’छ । माइकुलाई पनि भेटनु रे सरले !’ (उनी रेडक्रसका सभापतिलाई माइकु भन्थे)

एकछिनमा कुलानन्द बा पनि त्यहाँ आए । कुलानन्द गौतम पूर्वएलडीओ । रेडक्रस जिल्ला शाखामा कोषाध्यक्ष थिए ।

‘प्रदीप बाबु, मलाई सहयोग अर्न पर्‍यो ।’

‘के सहयोग हो बुबा ?,’ मैले जिज्ञासा राखेँ ।

‘सभापतिले प्रदीपजीलाई भन्नु भनेका छन् । स्वागत ब्यानर बनाउन लगाउनुपर्‍यो ।’

‘पर गुठीमा अभिनन्दनको मूल ब्यानर बनाउन दिएको छ, शुद्धाशुद्धी हेर्दिनुपर्‍यो ।’

‘हजुर त प्रजातान्त्रिक विचारको मान्छे, किन यो अभिनन्दनमा लाग्नुभएको ?’

‘सभापतिसँग सकिँदैन बाबु ! बाध्य भइयो,’ उनले निराश भाव व्यक्त गरे ।

‘बुबा, मेरो यो रुचिको व्यवस्था होइन,’ यतातिर मैले अरुचि प्रकट गरेँ ।

‘बाबु, मलाई थाहा छ । जे भए पनि तपाईं गाडीमा जानुस् । खुसुक्क त्यति हेरेर आउनुस् । बरु, जानुभन्दा पहिले सभापतिजीले भेट्न भन्नुभा’छ । उहाँ पृतनानजिक तयारीमा हुनुहुन्छ । जानुस् है त्यति गर्नुस् ।’

‘जाऊँ धम्मर बाबु, मलाई छोडेर प्रदीप बाबुलाई लिन आउनु ।’

उनी मेरो अरू कुरा नसुनी हिँडे । एकैछिनमा टीकाजी आए । उनले पनि सभापतिले अह्राएको कामको कुरा सुनाए । उनले बजारमा गएर फोटो स्टुडियोमा ढाकाटोपी लगाएको फोटो खिच्न समेत सभापतिले भनेको सुनाए ।

‘साथी, तिमी र हामी सबैलाई अभिनन्दन मूल समारोह समितिमा राखिएको छ । त्यही भएर फोटो पनि खिच । मसँग त पुरानै छ ।’

‘टीकाजी, हामी राजावादी कि रेडक्रसकर्मी ?,’ मैले सोधेँ ।

‘तिम्रो कुरा बुझेँ साथी । तर, यी बुढासँग सकिँदैन यार !’ हारेका खेलाडीजस्ता देखिए ।

मन उकुसमुकुस भो । कस्तो नियतिले थिचेको हो मलाई, उठ्नै नसकिने गरी । नौनाडी गले मेरा पनि । तैपनि, प्रयास गरेँ आफूलाई अलिक शक्तिशाली बनाउने ।

भनेँ, ‘टीकाजी, एउटा कुरा बताऊँ त, हामी त द्वन्द्वमा तटस्थ बस्नुपर्ने होइन ? मानवीय कानुनले के भन्छ ?’

‘भो छोड यहाँ यी कुरा,’ उनी मलाई पन्छाउँदै थिए ।

मैले टीकालाई सम्झाउन सकिनँ । मन भारी भएर आयो । मनोभावमा विरोधाभासपूर्ण कुराले अड्डा जमाउन थाले । कुलानन्द बा र टीकाजीहरूको कुराले मेरो मन स्पर्शित हुनै सकेन ।

विवशताको बर्काे ओढेर म ब्यानर लेख्ने ठाउँसम्म घिच्चिएँ । टीकाजीलाई पृतनानजिक छोडेर गाडीमा धम्मर दाइले मलाई लिएर गए । बजारको दक्षिणछेउमा छ गुठी ।

नजिकै जिल्ला प्रशासन कार्यालय छ । रेडक्रसका विभिन्न कार्यक्रमहरूको ब्यानर लेखाउने ठाउँमै दिएको रहेछ । मैले जाँगर नलागीनलागी पढेँ । मलाई शुद्धाशुद्धी होस् नहोस्, वास्ता लागेको थिएन । ब्याचहरू पनि बनाइएको रहेछ । त्यो पनि हेरेँ ।

धम्मर दाइले गाडी होटेल हिलभ्यु जानेनजिक रोकेर मलाई छोडे । अनि, बिरामी लिन पोखरा निस्के । म हिँड्दै थिएँ । म उपल्लाचौरतिर जान हिँडेपछि मलाई आर्मी र सशस्त्रले समात्यो र पृतना छिरायो । म अचम्मित भएँ । मेरो मनलाई निचोरीनिचोरी मार्न खोजेजस्तो मानेँ ।

अनायासै भएको यो घटनाले मैले केही सोच्नै सकिनँ । कल्पनाभन्दा बाहिरको कुरा थियो मेरो लागि । त्यहाँको परिवेश हेरेँ भयभीत हुँदै । आ–आफ्ना काममा थिए सबै । केही सुकिलामुकिलाहरू दौरासुरुवाल र कमिजसुरुवालमा थिए ।

केही सरकारी पोसाकमा । सेना, प्रहरीको आफ्नै पोसाक हुने नै भयो । मलाई त्यहाँभित्र लगेपछि धेरैले घुरेर हेरे । किन ल्याइयो मलाई भनिएन । सोध्ने आँट पनि थिएन । मन भित्रभित्रै डराएको थियो । ग्रहदशा बिग्रेर होला, मेरो मनोदशा पनि भत्केको !

यत्तिकैमा सेनाका कुनै अफिसर त्यतै कतैबाट अगाडि आए ।

‘ए, यो पो हो केटो !,’ उनले रिसले चुर भएका डरलाग्दा आँखा हेर्दै सोधे, ‘ए केटा, तेरो घर कहाँ हो ?’ स्वर राक्षसी थियो । उनी घुरेर हेर्दै थिए जसरी भोको सिंहले मृगलाई भेट्दा घुर्छ ।

‘काभ्रेपलाञ्चोक सर,’ मैले सकेसम्म नरम हुँदै उत्तर दिएँ ।

‘अनि, पेस्तोल खै कहाँ छ ?,’ म अक्क न बक्क परेँ ।

विद्रोह गर्न मन लाग्यो, ‘तिमीहरूलाई जहाँ, जहिल्यै, जसलाई जे पनि आरोप लाउने अधिकार छ ?’ तर, मेरो पक्षमा त्यहाँ माहोल नभएको राम्रै थाहा पाएको मेरो मनले बोल्न खोजेको कुरा मनमै गुम्स्यायो । हिम्मतको परिधि छामिसकेको थिएँ मैले । त्यसैले शीरनत गरेर बसेँ ।

मेरो मनमस्तिष्क नै अपाहिजजस्तो बनेको थियो । निरीह मान्छेको मनोदशा कस्तो हुन्छ, मेरो हविगत त्यस्तै थियो । पीडाको तड्का लगाएर जे बोले’नि चुपचाप मन निचोरेर बसेँ म ।

त्यत्तिकैमा जिल्ला विकास समिति बागुलङका सभापति (राजाले मनोनीत गरेका) टीकाराम बा सफेद दौरासुरुवालमा देखिए ।

‘ओहो, यो बाबुलाई किन समाएको हजुर ?,’ उनले सैन्य अफिसरलाई सोधे ।

‘सभापतिज्यू, हेरिस्यो त, यही गधा रे’छ हजुरहरूलाई गोली हान्ने !’

ऊ रवाफ देखाएर बोल्यो, मानौँ उसले मलाई भेट्टाएर ठूलै युद्ध जितेको छ । मैले पुलुक्क उसको मुहारमा हेर्न भ्याएँ । शक्तिको दम्भ राम्रैसँग पढ्न सकेँ ।

‘धत् ! यो बाबु त हाम्रो अफिसर हो नि, रेडक्रस जिल्ला शाखाको,’ टीकाराम सापकोटाले मेरो काँधमा हात राखेर भने ।

अब भने अलिक सास फेर्न सहज भो मलाई । बाँचियो जस्तो । सभापतिले म उपल्लाचौरको रेडक्रस कार्यालयमै बस्ने गरेको पनि बताइदिए ।

एकजना सुबेदारले भने, ‘सर, जहिले’नि मर्निङवाकमा उहाँलाई यहीँ वरिपरि हिँडिरहेको देखेको छु ।’

सायद सभापति र त्यो अर्को अफिसरको कुराले अलिक कमजोर देखियो ऊ र केही नरम भावमा बोल्यो, ‘होइन त हजुर त्यो गोली हान्ने मान्छे उहाँ ?’

उसमा आशंका केही बाँकी भएझैँ भान पर्थ्यो । तर, ऊ तँबाट तपाईंमा उक्लियो ।

‘म जिम्मा लिन्छु हजुर, यो बाबु होइन । हरेक बिहान घुमेर आउँदा मेरो घरमा मैले एक गिलास दूध खुवाएर पठाउने गरेको छु यो बाबुलाई,’ टीकाराम बाले दृढता व्यक्त गरे ।

हुन पनि हरेक बिहान टहलिएर आउँदा उनको घरमा एक गिलास दूध अनिवार्यजस्तै पिउँथेँ म । पिउन मानिनँ भने टीकाराम बा रिसाउँथे ।

त्यत्तिकैमा रेडक्रसका सभापति विश्वनाथ रेग्मी पनि त्यहीँ आए । उनले पनि मेरो पक्षमा बोले ।

उनले थपे, ‘प्रदीपजीलाई मैले नै आज मूलगेटको ब्यानरको लागि बजार पठाएको हुँ ।’

मेरो मनबाट डर कोसौँ दूर भाग्यो । मुहारमा रगत भरिएर आँटमा परिणत भएझैँ भान भयो ।

बल्ल मैले सोध्ने हिम्मत गरेँ, ‘एउटा कुरा सर, ममाथि किन यस्तो शंका भयो ?’

एकजना सशस्त्रको डीएसपी हुनुपर्छ सायद, उनले शिरदेखि पाउसम्म हेर्दै भने, ‘तपाईंको ड्रेस र हुलिया उस्तै परेर । गोली हान्नेले रातो टिसर्ट, जिन्स पाइन्ट र गोल्डस्टार जुत्ता लाएको थियो । तपार्इंको पनि त्यही छ ।’

अलिकति आत्मबल बढ्यो । म खिस्स हाँसे । आजबाट गोल्डस्टार जुत्ता नलगाउने मनले निष्कर्ष निकाल्यो । सुरक्षा निकायको कस्तो अन्दाज है ! सायद टीकाराम बा र विश्वनाथ रेग्मी समयमा आइनपुगेका भए मेरो हालत के हुन्थ्यो होला ! सम्झँदा पनि मन डराउँछ ।

सन्त्रस्त मन बोकेर म निस्कन्छु । तर, त्यहाँबाट करिब डेढ सय मिटर दूरीमा रहेको अफिस पुग्न पनि मलाई कोसौँ पैदलयात्रा गरेजस्तो गाह्रो भयो ।

अफिस पुगेँ । थकित छ मन, उस्तै गलित छ तन । पीडा उस्तै असह्य छ । चिच्याउन मन लाग्छ । मनका अव्यक्त पीडाहरू पोख्न मन लाग्छ । तर पनि मौन छु । मलाई अप्ठ्यारो लाग्यो । मनलाई मनाउनै सकिनँ । के गर्ने, के नगर्ने सोच्न पनि सकिनँ ।

यता सदरमुकाममा राजाको अभिनन्दन गर्दै हिँड्छन् रेडक्रसकर्मीहरू । उता गाउँतिर फिल्डको काममा जाँदा विद्रोहीको मारमा पर्ने हामीजस्तै कर्मचारी ! स्पष्टीकरण, चित्त नबुझे शारीरिक यातना र भौतिक सफाइका धम्की ।

धेरै तनाव लाग्छ मलाई । बेलुकी केही त गर्नैपर्ने सोचेर केन्द्रका हाकिम विष्णुहरि देवकोटालाई सम्झिएँ ।

रात पूरै छटपटीमै बित्यो । नित्यकर्म सकेर बजार झरेँ । कुँडुलेका हरि सापकोटाको कम्युनिकेसन पसल थियो । कहिलेकाहीँ गफ जोत्ने मेरो अखाडा । त्यहीँ भित्रतिर सानो कोठा थियो फोनको आवाज बाहिर अरूले नसुन्ने ।

अफिस समयभन्दा अघिपछि फोन गर्नुपरे विष्णुहरि सरले उहाँको वासस्थानको नम्बर पनि दिनुभएको थियो । फोन घुमाएँ । सबै बेलीविस्तार लगाएँ ।

उहाँ मेरो रिपोर्टिङले गम्भीर भएको पाएँ । उहाँले केन्द्रीय महामन्त्री देवरत्न धाख्वासँग कुरा राख्ने बताउनुभयो । त्यसपछि मेरो मन चंगाजस्तो हलुँगो भयो ।

राजाको अभिनन्दन हुने दिन । चुपचाप अफिस फर्कें । खाना खाएँ । अनि, नुहाइधुवाइ गरेँ । छतमा घाम तापेर बसेँ । माइकमा राजाको जयजयकार घन्किरहेको सुनेँ । मलाई चासो थिएन ।

भोलिपल्ट सभापतिले मसँग स्पष्टीकरण सोध्ने कुरा मनमा परिसकेको थियो । किनकि, मैले बहिष्कार गरेर उनलाई असहयोग गरेको चार्ज ममाथि लगाउने पक्कापक्की थियो । उनको स्वभावसँग अभ्यस्त थिएँ म, यति थाहा नहुने कुरै भएन । 
कार्यक्रम सकिएपछि हुट भएको रेडक्रसको टोयोटा गाडी चढेर टीका आए ।

‘साथी, तिमीले भनेको हो रहेछ नि !’

‘के टीकाजी ?,’ मैले जिज्ञासुभावले सोधेँ ।

‘केन्द्रबाट सर्कुलर आएको रहेछ, द्वन्द्वका बेला रेडक्रस घुम्ती सरकारमा बस्न नहुने, राज्य वा विद्रोही पक्षका कुनै पनि गतिविधि र कार्यक्रममा सरिक हुन नहुने भनेर ।’

उनले फ्याक्सको चिठी मतिर तेर्स्याए । उति बेला अफिसमा इन्टरनेट त थिएन, फ्याक्स बिग्रेकोले हरिकोमा नै फ्याक्स आउने व्यवस्था मिलाइएको थियो । उनले त्यहीँबाट चिठी बोकेर आएका रहेछन् ।

अचानक मेरो बादल मडारिएको मन फाटेर उज्यालियो । लिएर सरसर्ती पढेँ । मेरो भावनाको कदर गरेछ केन्द्रले । संयोग हो कि, हिजोसम्म यो विषय केन्द्रले भुलेर नै पो हो कि कुन्नि !

मैले देवकोटा सरलाई भनेको व्यहोरा झन्डैझन्डै समेटिएको आशयमा ७५ जिल्ला शाखाकै लागि सर्कुलर गरेको रहेछ ।

‘मैले त भनेथेँ टीकाजी पहिले नै यो विषयमा । सभापतिले मानेनन् ।’

म कति खुसी भएँ यही बहानामा, अघिल्लो दिनको पीडा सबै भुलेँ । मलाई सभापतिले भोलि सोध्न सक्ने स्पष्टीकरणसँग डर भएन । मस्कियो मन । खुसी उम्लिएर पोखिन लागेजस्तो अनुभूति भयो ।

मनको बार्दलीमा उज्यालो जून उदाएर मनको मुस्कानमा मिसियो । आत्मसन्तुष्टिको उचाइ अकासियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro