
काठमाडौं । भारतले पाकिस्तानमा गरेको आक्रमणबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले परिस्थितिमाथि नजर राखिरहेको बताएका छन् ।
“म भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छु,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।
उनले लेखेका छन्, “म राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीसँग सहमत छु, यो चाँडै अन्त्य हुनुपर्छ र शान्तिपूर्ण समाधानको लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता जारी राख्नेछु ।”
केही समयअगाडि पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पाकिस्तानको पूर्ण अधिकार रहेको बताएका छन् । बीबीसी