
काठमाडौं । नेपाल राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंक कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाको भूमिकामाथि प्रश्न उठाएको छ । संघले मंगलबार एक विज्ञप्तिमार्फत राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरिएकोप्रति आपत्ति जनाएको हो ।
“आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवं क्षमतामा नै प्रश्न उठेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
संघले गभर्नर नियुक्तिमा भएको ढिलासुस्तीले लज्जाबोध भएको बताएको छ । गभर्नर नियुक्त नहुँदा वित्तीय क्षेत्रको नियामक राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सीमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बन्ने सम्भावना बढेको संघले बताएको छ ।
"...सामान्य निर्णयहरूबाहेक नीतिगत निर्णय हुन नसकिरहेको अवस्था छ । बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिन्छ । यस सन्दर्भमा विद्यमान चुनौतीहरूलाई सहजरूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रूपमा नियुक्ति गर्न हामी जोडदार माग गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।
संघले केन्द्रीय बैंकलाई नेतृत्वविहीन राख्न गभर्नर नियुक्तिमा षड्यन्त्रपूर्वक ढिलासुस्ती गरिएको आरोप लगाएको छ ।