site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको कर नीतिले नेपाली सिनेमालाई कसरी गर्दैै छ असर ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कर नीतिले नेपाली चलचित्र उद्योग पनि प्रभावित हुने भएको छ ।

दोस्रो कार्यकाल अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशबाट आयातित वस्तुमा ठूलो मात्रामा कर लगाउने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए । ट्रम्प प्रशासनको यो नीतिले नेपाली चलचित्र उद्योग पनि प्रत्यक्ष प्रभावित हुने भएको हो ।

त्योसँगै पछिल्लो समय विदेशी चलचित्रमा ट्रम्पले लगाउने भनेको शतप्रतिशत कर नीतिले थप असर पर्न सक्नेछ । विदेशबाट आयातित वस्तुमा कर लगाउने नीतिसँगै अमेरिका लैजाने नेपाली चलचित्रको लगानी बढ्नेछ । 

“अब अमेरिका आउने नेपाली सिनेमाको लगानी महँगो हुने भयो । पहिलो कर नीतिकै प्रभाव पर्ने अवस्था थियो । भर्खरै ट्रम्पले घोषणा गरेको चलचित्रमा शतप्रतिशत कर लगाउने निर्णयले थप असर गर्नेछ,” अन्तर्राष्ट्रिय बजारमा चलचित्र वितरण गर्दै आएका वितरक प्याट्रिक सुवेदी भन्छन् ।

ट्रम्पले घोषणा गरेको कर नीति कस्तो हो, प्रस्ट छैन । त्यसलाई लागु गर्दा कसरी आउँछ, त्यसमा नेपाली चलचित्र कति प्रभावित हुने प्रस्ट हुनेछ ।

“अहिले त्यही एक लाइन कुरा मात्रै आएको छ । त्यसको विस्तृत कसरी आउँछ भन्ने हो,” उनी भन्छन्, “यदि, लागु हुने हो भने एक लाखमा अमेरिका आइपुग्ने चलचित्र दुई लाख पर्नेछ । दोब्बर महँगो हुने यसै देखिइसक्यो ।”

पहिला नै सम्झौता गरिसकेका चलचित्र अमेरिका लैजाँदा घाटा हुने अवस्था रहेको सुवेदीको भनाइ छ ।

शतप्रतिशत नाफा प्रायः कुनै पनि चलचित्रमा नहुने भन्दै उनी घाटा व्यहोर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । “एक लाखमा ल्याएको चलचित्रले कमाउँदा सामान्यतः ५० हजार नाफा हुने हो, एक लाख नै नाफा कमाउँछन् भन्ने हुँदैन,” सुवेदी भन्छन्, “शतप्रतिशत नाफा हुँदा पनि लगानी मात्रै सुरक्षित हुने अवस्था छ ।” 

नेपालमा राम्रो हाइप बनाएका र बलियो ‘ट्रयाक रेकर्ड’ भएका मेकरका सिनेमा पछिल्लो समय अमेरिकामा स्तरीय मूल्यमा बिक्री हुँदै आएका छन् । 

अमेरिकी सिनेमा युरोपलगायत देशमा प्रोडक्सन हुन थालेपछि ट्रम्पले त्यसलाई रोक्न शतप्रतिशत कर लगाउने घोषणा गरेका छन् । विदेशमा प्रोडक्सन हुने हलिउड सिनेमामा मात्र यो कर नीति लागु हुने हो वा विश्वभरबाट अमेरिका रिलिज हुन पुग्ने चलचित्रमा पनि लाग्ने भन्ने प्रस्ट छैन ।

“यदि, विश्वभरबाट आएका चलचित्रमा शतप्रतिशत कर लाग्ने हो भने नेपालीभन्दा पनि बलिउड सिनेमालाई ठूलो असर पर्नेछ,” वितरक सुवेदी भन्छन् ।

युरोपेली देशमा सिनेमा छायांकन गरिँदा आकर्षक आर्थिक सहयोग हुने भएपछि हलिउडका चलचित्र युरोपका विभिन्न देशमा खिच्न थालिएको छ । भीएफएक्ससँगै अरू प्राविधिक काम पनि अमेरिकाबाहिर हुन थालेपछि ट्रम्पले यसलाई रोक्ने प्रयास गरेका हुन् ।

“नेपाली चलचित्र पनि आकर्षक इन्सेन्टिभ पाउने भएकाले युरोपमा छायांकन हुने गरेका छन्, जबकि निकै कम संख्यामा नेपाली चलचित्र अमेरिकामा छायांकन हुन्छन्,” वितकर सुवेदी भन्छन् ।

बाहिरबाट हलिउडका सिनेमाको प्रोडक्सन मात्र रोक्ने उद्देश्य रहेको अवस्थामा भने ट्रम्प प्रशासनको पछिल्लो कर नीतिको प्रभाव पर्ने छैन । समग्रमा विदेशी भूमिमा बनेका सबै चलचित्रमा सय प्रतिशत कर लगाइए अमेरिका लैजाने नेपाली चलचित्रको संख्या पनि कम हुनेछ ।

कसरी लागु गरिन्छ त्यो भने आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । “भन्सार हुँदै आउने भए एउटा कुरा हो । सिनेमा त ई–मेलमा आउने हो । यसलाई कसरी कर लागु गर्ने हो,” उनी भन्छन्, “सेन्सर पनि नहुने भएकाले हेरौँ कसरी यो नीति लागु हुन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro