
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको नवौँ चरण पूरा हुँदा पनि प्लानिङ ब्वाइजले शीर्ष स्थानमा आफ्नो दबदबा कायमै राखेको छ । आइतबार लिग लिडर प्लानिङ ब्वाइज युनाइटेड र कुमारी क्लबबीचको खेल १–१ को बराबरीमा टुंगिएसँगै नवौँ चरण पूरा भएको हो ।
गत वैशाख १७ गतेदेखि २१ गतेसम्म नवौँ चरण सञ्चालन भएको थियो । चरणका सातै खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चालन भएको थियो । यस चरणमा कुल २३ गोल भए ।
प्लानिङ शीर्ष डिभिजन नजिक
नवौँ चरणसम्म आइपुग्दा प्लानिङ शीर्ष डिभिजन नजिक पुगेको छ । पहिलो चरणदेखि आफ्नो अपराजित यात्रा कायम राखेको प्लानिङले कुल २३ अंक बनाउँदै लिगमा आफ्नो दबदबा कायम राखेको हो । आइतबार प्लानिङले १–०ले पछि परेको अवस्थालाई उल्ट्याउँदै कुमारीसँग १–१ को बराबरी खेलेको थियो । यो जारी लिगमा प्लानिङको दोस्रो बराबरी हो । प्लानिङका लागि शीर्ष डिभिजन बढुवा टाढा छैन । उसले कुल १३ खेलमा बाँकी चारमध्ये दुई खेलमा मात्र जित निकाले पनि शीर्ष डिभिजन लिगमा बढुवा हुनेछ ।
प्लानिङ ब्वाइज लिगको शीर्ष स्थानमा रहँदा सरस्वती युथ क्लब र टुसाल युवा क्लब रेलिगेसन जोनमा छ । रेलिगेसन जोनमा रहेको सरस्वतीले कुल नौ खेलमा दुई जित र सात हारसहित ६ अंक बनाएको छ । टुसाल युवा क्लबले कुल नौ खेलमा एक जित, चार बराबरी र चारबाट सात अंक बनाएको छ । यी दुई टिम रेलिगेसन क्षेत्रमा संघर्षरत भए पनि अरू तीन टिम पनि रेलिगेसनको खतरामा छन् ।
रोलिगेसन जोनभन्दा माथिल्लो तीन टोली समान एक अंक दूरीमा रहेका छन् । जसका कारण रेलिगेसन जोनमा रहेका टोलीहरूले एक मात्र जित निकाले माथिल्ला टोली रेलिगेसन जोनमा झर्ने सम्भावना उच्च छ ।
उच्च गोलकर्तामा फागुराम नै
लिगले नवौँ चरणसम्म आइपुग्दा कुल १३५ गोल पाइसकेको छ । लिगमा पहिलो चरणमा १५, दोस्रो चरणमा १८, तेस्रो चरणमा कुल १४, चौथो चरणमा १८, पाँचौँ चरणमा ११, छैटौँ चरणमा १५, सातौँ चरणमा १०, आठौँ चरणमा ११ र नवौँ चरणमा २४ गरी कुल १३६ गोल भएको हो । हालसम्म पनि शीर्ष टोली प्लानिङ ब्वाइजले सर्वाधिक १६ गोल गरेको छ ।
यस चरणसम्म प्लानिङले शीर्ष स्थान बनाएसँगै टोलीका फागुराम थारू नै उच्च गोलकर्ता छन् । उनले नौ खेलमा सात गोल गरिसकेका छन् । उनले झापा, मध्यपुर, सरस्वती, आरसिटीसरिुद्ध समान एक गोल गर्दा च्यासलविरुद्ध दुई गोल गरे ।
उच्च गोलकर्ताको दौडमा फागु रामलाई चार गोलसहित रानीपोखरी कर्नर टिम (आरसिटी) का प्रज्वल गुरुङ, कुमारी क्लबका यमन महर्जन, बाँसबारी क्लबका बिक्की राई, सन्दिप लिम्बु र बिग्रेड ब्वाइज क्लबका आशीष गुरुङ गरी पाँच खेलाडीले पछ्याइरहेका छन् ।
झापा फुटबल क्लबका पुजन राई, च्यासलका निरज कार्की, प्लानिङ ब्वाइजका सुजन डंगोल, श्री भगवती क्लबका अमित लामा र बिक्रान्त नर्सिंह रानाले समानले समान तीन गोल गरेका छन् ।
त्यसैगरी, नयाँबस्ती युथ क्लबका पूर्णबहादुर गुरुङ, टुसाल युवा क्लबका सुजन माझी, कुमारी क्लबका विनोद धमला, भगवती क्लब टोखाका उज्वल राई, सुलेमान थापा मगर, वीरगन्ज युनाइटेडका विकासदास थारू, विवेक चौधरी, कृपकान्त थारू महतो, च्यासल युथ क्लबका आशीष थारू, कुशल देउवा, ब्रिगेड ब्वाइजका विजय उर्न, ब्वाइज युनियनका सञ्जीव लामा, मिलन लिम्बू र दोर्जे तामाङ, दिव्यविक्रम चौधरी, झापा फुटबल क्लबका प्रदीप बुढाथोकी, प्लानिङ ब्वाइज युनाइटेडका प्रतापसिंह राई, बाँसबारीका सरोज दर्लामी, सरस्वतीका विशेष लामा, धीरेन्द्रबहादुर शाह र आरसीटीका सुदीप लामाले समान दुई गोल गरेका छन् । लिगमा यी खेलाडीबाहेक ४७ अन्य खेलाडीले समान एक गोल गरेका छन् । यस चरणमा एकमात्र आत्मघाती गोल भएको छ । यस चरणमा कुनै पनि खेलाडीलाई रातो कार्ड देखाइएन ।
यस्तो छ तालिका
नवौँ चरणसम्म आइपुग्दा लिगको शीर्ष स्थानमा प्लानिङ ब्वाइज युनाइटेड नै कायम छ । प्लानिङले कुल नौ खेलमा सात जित र दुई बराबरीसँगै २३ बटुल्दै शीर्ष स्थान कायम राखेको हो । प्लानिङ ब्वाइजसँग मात्र दुई अंकको दूरीमा भगवती क्लब टोखा दोस्रो स्थानमा छ ।
१५ अंक बनाएको वीरगन्ज तालिकाको तेस्रो स्थानमा छ । समान अंकसहित बाँसबारी चौथो र ब्वाइज युनियन पाँचौँ स्थानमा छन् । च्यासल युथ क्लब १४ अंकसहित छैटौँ स्थानमा उक्लेको छ । कुमारी १३ अंकका साथ सातौँ स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब आठौँ स्थानमा झर्दा क्लबको १२ अंक छ । झापा नवौँ स्थानमा नौ अंकका साथ यथावत् छ । अन्नपूर्ण क्लब (आरसीटी) आठ अंकसहित रेलिगेसन जोनबाट उक्लँदै १०औँ स्थानमा उक्लिएको छ । समान आठ अंक नै जोडेका नयाँबस्ती युथ क्लब र मध्यपुर युथ एसोसिएसन क्रमशः ११औँ र १२औँ स्थानमा छन् । रेलिगेसन जोनमा टुसाल युवा क्लब र सरस्वती युथ क्लब छन् । टुसालको सात र सरस्वतीको ६ अंक छ ।