
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग ७–० को लज्जास्पद हार बेहोरेको छ ।
बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न उद्घाटन खेलमा भारतलाई जित दिलाउन अभिष्टा बस्नेत, निरा चानु लोङ्गजाम र अनुष्का कुमारीले दुई गोल गरिन् । जुलान नोङ्गमैथेमले एक गोल थपिन् ।
१७औँ मिनेटमा अभिष्टा बस्नेतले भारतलाई अग्रता दिलाइन् । २५औँ मिनेटमा निरा चानु लोङ्गजामले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्याइन् । ४१औँ मिनेटमा अभिष्टाले दोहोरो गोल गरेपछि भारतले ४–० को अग्रता कायम गर्यो । पहिलो हाफको इन्जुरी समयमा भारतकी जुलान नोङ्गमैथेमले अग्रतामा एक गोल थपिन् ।
खेलको ५६औँ मिनेटमा निराले पनि पुनः गोल गर्दै अग्रतालाई ६–० सम्म लम्ब्याइन् । ६२औँ मिनेटमा अनुष्काले पनि दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।
यो जितसँगै भारतले लिगमा पहिलो तीन अंक बनाएको छ । भारतले अब दोस्रो जितको निम्ति शुक्रबार (अगष्ट २२) मा बंगलादेशको सामना गर्नेछ ।
पराजित नेपालले भने पहिलो जितको निम्ति शुक्रबार (अगष्ट २२) मा घरेलु टोली भुटानको सामना गर्नेछ ।