
काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले एन्फा महिला लिग छनोटमा एनएमबी पोखरा गर्ल्स फुटबल टिमलाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
बुधबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बुटवल लुम्बिनीलाई जित दिलाउन टोलीकी सुश्मा लिम्बू र करुणा परियारले समान एक गोल गरिन् । बुटवल लुम्बिनीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हाे ।
खेलको ३९औँ मिनेटमा करुणाले बुटवल लुम्बिनीलाई अग्रता दिलाइन् । ७३औँ मिनेटमा सुश्माले अग्रतालाई दोब्बर बनाइन् ।
यो जितसँगै समूह ‘बी’ मा रहेको बुटवलले ६ अंक बनाएको छ । दुई खेलमा शतप्रतिशत जित निकालेको बुटवलले अब तेस्रो जितको निम्ति संकटासँग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार दिनको ४ बजे च्यासल रंगशालामा हुनेछ ।
पराजित पोखरा गर्ल्स भने तीन अंकमा सीमित छ । दुई खेल खेल्दा एक खेलमा जित हात पारेको पोखराले तेस्रो खेलमा लम्की फुटबल क्लबसँग खेल्नेछ ।