
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरे पनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको उल्लेख गरे । कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्यांक मन्त्रालयसँग नभएको बताए । विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्यांकलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उनको भनाइ छ ।
उनले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताए । घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरूलाई आफूले निर्देशन दिएको उल्लेख गरे ।