
काठमाडौंं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रम कर्मकाण्डी बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले गत वर्ष अध्यादेशमार्फत बनाइएको क्यालेन्डर फेरिएकामा आपत्ति जनाए ।
“गत वर्ष अध्यादेशमार्फत बजेट प्रस्तुत हुनभन्दा तीन महिना अघि नै नीति तथा कार्यक्रमबारे नयाँ क्यालेन्डर बनाएर काम सुरु गरेका थियौँ । यो लोकतान्त्रिक विधि लागु हुन सकेको भए सरकारको नीति तथाा कार्यकम निर्माणमा जनप्रतिनिधिहरूका सुझाव समावेश गर्न सहज हुन्थ्यो,” उनले भने ।
उनले सरकारले जे गरे नि हुन्छ भन्ने दम्भ देखाएको बताए । “यो सरकारले गत सरकारको यो निर्णयलाई के आधारमा खारेज गर्यो र फेरि अहिले कर्मकाण्डी तरिकाले नीति कार्यक्रम प्रस्तुत गरिएको छ । सरकारसँग संख्या छ, जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ,” उनले भने ।
उनले नीति कार्यक्रमलाई कर्मकाण्डी बनाइएकोबाट सच्चाउन आग्रह गरे । “नीति तथा कार्यक्रम र बजेटबारे संसद्मा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो । फेरि, एउटा औपचारिकतामा यसलाई प्रस्तुत गरियो । म सच्याउन माग गर्दछु,” उनले भने ।