
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले सरकार आजै ढल्छ भन्ने वक्तव्यले समाजमा ध्वनि प्रदूषण भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति लक्षित गर्दै गठबन्धन बनेदेखि नै चलखेल गरेको बताए ।
“दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैनजस्ता वक्तव्यबाजीले मिडिया रंगिने र समाजमा ध्वनि प्रदूषण हुनेक्रम जारी छ,” उनले भने ।
सरकार ढल्ले कुरा निरर्थक भएको उनको दाबी छ । “सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटा बकबासहरू निरर्थक सावित भएका छन् । त्यस्तो बोल्ने नेतृत्वलाई कतिवटा जिब्रा भएका र अहोरात्र कति झुटा बोल्न सक्ने काबिल नेता मानेर हामीले सुनिरहनुपर्ने हो ?,” उनले सोधे ।
उनले प्रचण्ड नेतृत्वको सरकारका पालामा पाकिस्तानी मोडेलको अभ्यास देखिएको टिप्पणी पनि गरे । “सुन तस्करीले सिंगो देश पहेँलपुर भएकै थियो । अनि त्यो सबै गर्ने मुहानहरू आज त बन्द छन् । त्यो बन्द भएपछि अस्थिरता मौलाउने खालका वक्तव्य बढिरहेका छन्,” थापाले भने ।
उनले केही समयअघि २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति कसका कार्यकर्ता थिए भनेर पनि प्रश्न गरे ।