
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले देशमा बिचौलियाको राज रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा वाग्लेले पार्टी र आर्थिक संस्था पनि बिचौलियामा कब्जामा रहेको बताए ।
अर्थविद्समेत रहेका वाग्लेले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताए । आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–व्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी रहेको उनको भनाइ छ । उनले अहिले गैरबैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेकोसमेत बताए ।
"बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर, मेरो भनाइ छुट्याउनैपर्छ भन्ने नै छ । किनकि स्वार्थ बाझिन्छ । अहिले जुन बिचौलियाको राज भइरहेको छ । पार्टीहरू कब्जामा छन्, आर्थिक संस्था कब्जामा छन् । यो एकाधिकार बढ्दै जाँदा उनीहरू हाबी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ," उनले भने ।