
काठमाडौं । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले वैशाख १९ गते उक्त बीओपीको उद्घाटन गरेका हुन् ।
धादिङ सदरमुकामबाट ७०–७५ किलोमटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बीओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री माननीय रामनाथ अधिकारी, प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी माहनिरीक्षक राजु अर्याल, रुवीभ्याली गाँउपालिकाका प्रमुख रामसिंह तामाङलगायतको उपस्थिति थियो ।
यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना भइसकेको छ ।
योसँगै छिमेकी मुलुक चीनतर्फको सीमातर्फ ११ र छिमेकी मुलुक भारततर्फको सीमामा दुई सय ४४ गरी बीओपी संख्या जम्मा दुई सय ५५ पुगेको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिए ।