
काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनीर खासै सार्वजनिक ‘लाइमलाइट’मा रमाउने व्यक्तिका रूपमा परिचित छैनन् । तर, हालैका दिनमा एउटा भनाइका कारण उनी पाकिस्तानभित्र मात्र नभएर भारत र अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा चर्चाको केन्द्र बनेका छन् ।
जनरल मुनिरको भनाइ सिधै कश्मीर हिंसासँग जोडिएको छैन । तर, उक्त भनाइलाई उनी र उनको संस्थाले अब सामना गर्ने रणनीति अपनाएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
पद सम्हालेदेखि जनरल मुनीर प्रायः सार्वजनिक रूपमा बोलेका थिएनन् । तर, उनको उक्त महत्त्वपूर्ण भाषणले व्यापक ध्यान खिचेको छ ।
जनरल मुनीरले के भनेका थिए ?
गएको अप्रिल १७ मा इस्लामाबादमा विदेशमा बस्ने पाकिस्तानीसँगको बैठकमा जनरल मुनीरले ‘हामी हरेक हिसाबले हिन्दुहरूभन्दा फरक छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनले कश्मीरका विषयमा पनि बोले । कश्मीरलाई पाकिस्तानको ‘शरीरको नसा’ (जग्युलर भेन)को संज्ञा दिएका थिए । र, भारतको कब्जाविरुद्धको कश्मीरीको वीरतापूर्ण संघर्षमा पाकिस्तानले साथ दिइरहने प्रतिज्ञा गरेका थिए ।
उक्त भाषण विगतका वर्षमा पाकिस्तानी नेताले दिएका थुप्रै वैचारिक वक्तव्यमध्ये एक भएर पनि रहन सक्थ्यो । तर, अप्रिल २२ को कश्मीर घटनाले यसलाई विशेष बनायो । उनको उक्त भाषणको ठिक पाँच दिनपछि भारत–शासित कश्मीरको पहलगाममा पर्यटकमाथि आतंककारीले गोली चलाए ।
भारतको कश्मीरमा २६ जनाको मृत्यु हुने गरी आतंकवादी हमलाको केही दिनअगाडि पाकिस्तानी सेना प्रमुखले उक्त टिप्पणी गरेका थिए । त्यो टिप्पणीले पाकिस्तानी सेनाको नीति र क्षेत्रीय तनाव बढाउने यसको भूमिकाका बारेमा फेरि बहससुरु गराएको छ ।
कश्मीर सन् १९४७ मा भएको भारत–पाकिस्तान विभाजनदेखि नै दुवै देशबीचको एक विवादित क्षेत्रका रूपमा छ । दुवै देशले सम्पूर्ण कश्मीर आफ्नो भनेर दाबी गर्छन् । र, यसको केही भागमा नियन्त्रण राख्छन् ।
“उनको यो सामान्य भाषणजस्तो थिएन,” जोन्स हप्किन्स विश्वविद्यालयका दक्षिण एसियाविज्ञ जोशुआ टी. ह्वाइटले भने, “यसको विषयवस्तु पाकिस्तानको वैचारिक धारासँग मेल खान्छ । तर, यसमा हिन्दु–मुस्लिम भिन्नतालाई प्रत्यक्ष रूपमा उल्लेख गरिनुले यसले भारतलाई विशेष रूपमा उत्तेजक बनायो ।”
उनले थपे, “पहलगाम आक्रमणभन्दा ठिकअघि आएको यो भाषण भएकाले पाकिस्तानले संयम अपनाएको दाबी गर्न वा परोक्ष कूटनीति अघि बढाउन कठिन बनायो ।”
सिंगापुरको एस राजरत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता अब्दुल बासित यसले नकारात्मक छवि बनाएको दाबी गर्छन् । उनले भने, “मुनीर त्यो क्षणको प्रभावमा परेका हुन सक्छन् । निजी रूपमा भनेका भए सायद कसैको ध्यान जाँदैनथ्यो होला, तर सार्वजनिक मञ्चमा, त्यो पनि सेना प्रमुखका रूपमा, ती शब्दहरू स्पष्ट रूपमा द्वन्द्वात्मक सुनिए ।”
बासितले अगाडि भने, “केहीले यसलाई शक्ति प्रदर्शनका रूपमा हेरेका छन् ।”
लामो समयदेखि पाकिस्तानमा सेनामाथि राजनीतिमा हस्तक्षेप गर्ने, सरकार स्थापित र हटाउने आरोप लगाइन्छ । जनरल मुनीरलाई देशको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । भारतसँग तनाव फेरि बढ्दै गर्दा परमाणु हतियार भएका दुई अशान्त प्रतिस्पर्धी देशहरूको केन्द्रीय व्यक्तित्वका रूपमा उनलाई हेरिएको छ । बीबीसीबाट ।