site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली सेनाले गाजा कब्जाका लागि सुरु गर्‍यो पहिलो चरणको काम

काठमाडौं । इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने र त्यसलाई नियन्त्रणमा लिने योजनासहितको स्थलगत आक्रमणका लागि प्रारम्भिक कार्यहरू सुरु गरेको बताएको छ । सेनाले सहरको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ ।

सैनिकहरूले आक्रमणको तयारीका लागि जेइटाउन र जबालिया क्षेत्रहरूमा काम गरिरहेका सैन्य प्रवक्ताले बताएका छन् । रक्षा मन्त्री इजरायल काट्जले मंगलबार यस योजनालाई अनुमोदन गरेका थिए । यो हप्ताको अन्त्यमा सुरक्षा योजना मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

सेप्टेम्बरको सुरुमा यस अभियानका लागि करिब ६० हजार रिजर्भ सैनिकहरूलाई बोलाइएको छ, जसले नियमित सैनिकहरूलाई फुर्सद दिने बताइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, हमासले युद्धविराम सम्झौतामा अवरोध पुर्‍याए निर्दोष नागरिकहरूमाथि युद्ध जारी राखेको आरोप इजरायलमाथि लगाएको छ ।

इजरायलको कब्जा योजनाको तयारी सुरु भएसँगै गाजा सिटीमा रहेका लाखौँ प्यालेस्टाइनीहरूलाई दक्षिणी गाजाका आश्रयस्थलहरूमा जानका लागि स्थानान्तरणको आदेश दिइने अपेक्षा गरिएको छ ।

इजरायलका धेरै सहयोगीहरूले यो योजनाको निन्दा गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले बुधबार यो कदमले दुवै जनताका लागि विपत्ति मात्र निम्त्याउने र सम्पूर्ण क्षेत्रलाई स्थायी युद्धको चक्रमा धकेल्ने जोखिम भएको चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजाको २१ लाख जनसंख्याका लागि थप विस्थापन र युद्धले पहिल्यै भयावह अवस्थालाई झन् खराब बनाउने जोखिम रहेको बताएको छ ।

गत महिना हमाससँगको युद्धविराम र बन्धक रिहाइ सम्झौताबारेको अप्रत्यक्ष वार्ता भंग भएपछि इजरायल सरकारले सम्पूर्ण गाजा स्ट्रिप कब्जा गर्ने आफ्नो उद्देश्य घोषणा गरेको थियो । 
बुधबार टेलिभिजन ब्रिफिङमा बोल्दै इजरायल डिफेन्स फोर्सेसका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले २२ महिनाको युद्धपछि हमास थकित र तितरवितर भएको बताए ।

तर, डेफ्रिनले इजरायली सेनाले यो अभियान सुरु गर्न पर्खिरहेको छैन भन्दै भने, “हामीले प्रारम्भिक कार्यहरू सुरु गरिसकेका छौँ । अहिले नै सैनिकहरूले गाजा सिटीको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।”

उनले जेइटाउन छिमेकमा दुई ब्रिगेडहरूले काम गरिरहेको जानकारी दिए । त्यहाँ हालैका दिनहरूमा उनीहरूले हतियारहरू भएको भूमिगत सुरुङ फेला पारेका थिए । तेस्रो ब्रिगेड जबालिया क्षेत्रमा कार्यरत रहेको पनि उनले प्रष्ट पारे । 

उनले नागरिकहरूमा क्षति कम गर्न गाजा सिटीको नागरिक जनसंख्यालाई उनीहरूको सुरक्षाका लागि स्थानान्तरणको चेतावनी दिइने बताए ।

गाजाको हमास संचालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बास्सलले मंगलबार एएफपी समाचार एजेन्सीलाई सहरको जेइटाउन र साब्रा छिमेकहरूमा अवस्था धेरै खतरनाक र असह्यीय रहेको बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्