
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले चार दिनभित्र काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडक खाली गर्न ‘अल्टिमेटम’ दिएको छ । शिक्षक आन्दोलनका कारण सडक बन्द गरिँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको भन्दै यस्तो समयसीमा दिइएको हो ।
महासंघका महासचिव भरत नेपालले आउँदो बिहीबारसम्म सडकमा निर्बाध रूपमा सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण मिलाइदिन माग गरे । “हामीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । तर, अहिलेसम्म केही जवाफ आएको छैन । सडक अवरुद्ध र यातायात व्यवसायीहरूका अन्य मागहरू पनि छन्,” उनले बाह्रखरीसित भने ।
गएको शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २७ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण उक्त क्षेत्रमा यातायात सेवा प्रभावित बनेको छ ।