
काठमाडौं । पाल्पा सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति जीप दुर्घटनामा परेको हो ।
पाल्पाको रैनादेवी छहरास्थित असारेबाट ठुलापोखरी तर्फ जाँदै गरेको लु१ज २३७७ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा चालकसहित पाँचजना घाइते भएका थिए ।
सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइकोमा पाँचमध्ये तीनजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते दुईजनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पाल्पा रैनादेवी छहराका २३ वर्षीय जनक रेगामी, सोही स्थानका ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षका चेतनारायण विकको मृत्यु भएको जिप्रका पाल्पाले जनाएको छ ।
घाइतेमध्ये जीपचालक २७ वर्षीय रन्जन रेस्मीको अवस्था गम्भीर छ । अर्का घाइते सरोज बुढाको अवस्था भने मध्यम रहेको जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।