
काठमाडौं । कश्मीरस्थित पहलगाममा यही अप्रिल २२ मा आतंक्रवादी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतमा बसिरहेका पाकिस्तानी नागरिककोे भिसा रद्द गरिएको छ । पाकिस्तानी नागरिकलाई स्वदेश फिर्ता पठाइँदै छ । अब भारतले आफ्नो देशमा बसिरहेका बंगलादेशी नागरिकलाई फिर्ता पठाउन थालेको छ ।
शनिबार (अप्रिल २६) बिहान गुजरात राज्यको अहमदाबाद र सूरत सहरबाट प्रहरीले बंगलादेशी र अरू विदेशी नागरिकसहित ५०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ । ती व्यक्तिमाथि अवैध रूपमा भारत आएको आरोप छ । गुजरात प्रहरीको यस्तो कारबाहीपछि त्यससम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।
अहमदाबादको चान्दोला, सूरतका केही इलाका, राजकोट र महिसागर जिल्लाबाट बंगलादेशी नगारिकलाई पक्राउ गरी हिरासतमा राखिएको छ । राजकोटबाट १० भन्दा बढी सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार, बंगलादेशी कालिगडका निम्ति प्रख्यात सोनी बजार, भगवतीपुरा, रसूलपुरा र हुसेनी चोकजस्ता क्षेत्रमा छापा मारिएको छ ।
अहमदाबाद अपराध शाखाका संयुक्त प्रहरी आयुक्त शरद सिंघलले यो कारबाहीका बारेमा जानकारी दिँदै समाचार संस्था एएनआईसित भने, “हामीलाई गृह राज्यमन्त्री, डीजीपी र अहमदाबाद प्रहरी आयुक्तले अहमदाबादमा बसेका अवैध प्रवासीलाई पक्राउ गर्ने दिएको आदेशका आधारमा अप्रिल २०२४ देखि अहिलेसम्म दुई प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको र १२७ अवैध बंगलादेशीलाई पक्राउ गरिएको छ । यसमध्ये ७७ जनालाई फिर्ता पठाइसकेका छौँ, बाँकीहरूलाई पठाउने प्रक्रियामा छौँ ।”
उनका अनुसार, चान्दोला क्षेत्र वरिपरि धेरै बंगलादेशी बसेको थाहा भएको थियो । प्रहरीले उक्त क्षेत्रमा शनिबार बिहान २ बजेदेखि खोजी अभियान थालेको थियो ।
“अहिलेसम्म हामीले ४५७ जनालाई पक्राउ गरेका छौँ । उनीहरूसँग अपराध शाखा कार्यालयमा सोधपुछ गरिनेछ । यदि, उनीहरू बंगलादेशी नागरिक भएको र अवैध रूपमा भारत प्रवेश गरेका पुष्टि भएमा तिनलाई देश फर्काउने प्रक्रिया सुरु गरिनेछ,” उनले भने ।
अर्कोतर्फ, गुजरातकै सूरत सहरको प्रहरी टोलीले १०० भन्दा बढी बंगलादेशीलाई पक्राउ गरेको बताइएको छ । उनीहरू फर्जी कागजात प्रयोग गरेर भारत आएका आरोप लगाइएको छ ।
विशेष छापा अभियान समूहका डीसीपी राजदीप सिंह नकुमले भने, “अनुसन्धानपछि यी सबैलाई बंगलादेश पठाइनेछ ।” बीबीसी हिन्दीबाट ।