
स्कुलका चक र डस्टरहरू
सडकमा ओर्लिएर
जादु देखाउन थाले
सिंहदरबारका काइते अक्षरविरुद्ध
तै पनि अक्षरहरू बोलेनन् ।
तागत छ शिक्षकको कलममा
ज्ञान बाँड्ने छडी छ हातमा
फुमन्तर गरेर
शिक्षाको वा जादुको विकास हुँदै छ सडकमा
ब्ल्याकबोर्ड छाडेर अक्षरहरू ब्ल्याक पिचमा
ओर्लिसके
तैपनि अक्षरहरू बोलेनन् ।
सिंहदरबारको आँखा छैन
देख्दैन
कान छैन, सुन्दैन
शिक्षा ऐनका लागि सडकमा
गीत गाउँदै छन्, नाच्दै छन्,
उफ्रँदै छन् हलन्त अक्षरहरू
तै पनि अक्षरहरू बोलेनन् ।
गाउँगाउँमा सिंहदरबार नारा चलेकै हो
कहाँ पुग्नु सिंहदरबार ?
बिचरा अक्षरहरू
वस्तुभाउसँगै चर्न गएका छन्
कालो अक्षर भैँसी बराबर !
भविष्यका कर्णधार अक्षरहरू
बिहानै स्कुल गएका
अबेरसम्म पनि घर फर्केनन्
प्रिमनसुनको भेलले
डाइभर्सन नै बगाइदियो
बर्खामा के होला ?
स्कुल गए घर पुग्ने पीर
घर पुगे स्कुल पुग्ने पीर
सरकारले अक्षरलाई नै
डाइभर्सनमा पठाएको छ
तैपनि अक्षरहरू बोलेनन् ।
हिजोआज अक्षरहरूमाथि
राजनीति घुसेको छ
स्वयं अक्षरहरू राजनीतिको
शरणमा गएपछि
कहाँ जालान्
भविष्यका कर्णधार साँवाअक्षरहरू
कुवेत, कतार वा मलेसिया ?
तैपनि अक्षरहरू बोलेनन् ।
(गोकर्ण)