
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसरमा चियापान आयोजना गरेका छन् । उनले आफ्नै निवास महाराजगंजमा आयोजना गरेको चियापान कार्यक्रममा सीमित व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।
शशांकले आजै नेपाली कांग्रेस संस्थापनपक्षका सात नेताहरूको बैठक पनि बोलाएका छन् ।
कांग्रेस नेताहरू बीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्र नारायण निधिपुत्र विमलेन्द्रबीच लञ्च मिटिङ आयोजनासहित छलफल चल्दै आएको थियो ।
चैत १६ मा विमलेन्द्र निवासमा तीन नेताका अतिरिक्त पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजय गच्छदार, नेता कृष्णप्रसाद सिटौला पनि सहभागी भएका थिए ।
त्यसदिन नेपाली लेखक संघको महाधिवेशनमा सहभागी हुन लुम्बिनी पुगेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिएनन् । तर, उनको समेत सहभागिता रहने गरी संस्थापनपक्षका सात नेताले आगामी १५औँ महाधिवेशनमा आफ्नो पक्षको साझा उमेदवार चयन गर्नेसहित त्यसअघि पार्टीको अवस्थामा सुधारको पहल गर्ने तयारी गरेका छन् ।
उनीहरूको बैठकले वर्तमान कार्य समितिका पदाधिकारीहरूको जिम्मेवार भूमिका नहुँदा पार्टी महाधिवेशन विधानको व्यवस्थाअनुरुप २०८२ मंसिरभित्र हुन नसक्ने निष्कर्ष निकाल्दै महाधिवेशनको सुनिश्चितताका लागि पनि पहल गर्ने समझदारी गरेका छन् ।