
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गौतमले नेपालको सबै जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे ।
"पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्यो, त्यसपछि बसेर योजना बनाउनुपर्यो । पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ, त्यो सबैका लागि योजना बनाएर लागु गर्ने स्थिति नहुँदासम्म यो हुँदैन," उनले भने ।
उनले अब छलफलमात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्या समाधान गर्न सम्भव नरहेको बताए । गौतमले काम गर्न देशको उच्च नेतृत्वलाई वाचा गराउन लगाउनुपर्ने बताए ।
"यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सयपटक उठबस गर्नेछु भने वाचा गराउनुपर्यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आमजनतालाई भन्नुपर्छ," गौतमले भने ।